रामेछाप नगरपालिकामा मेलमिलाप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २० २०७५
  • तामाकोशी

रामेछाप, फागुन २० गते । लेखबहादुर वि.क.
रामेछाप नगरपालिकामा नगरस्तरीय मेलमिलापकर्ताहरुको लागि १ दिवसीय अभिमुखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । न्यायिक समिति रामेछाप नगरपालिकाद्वारा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा जिल्ला अदालत रामेछापका न्यायधिश माधवेन्द्र रेग्मीको प्रमुख आतिथ्यतामा भएको थियो ।
रामेछाप नगरपालिकाका उपप्रमुख एवम न्यायिक समितिका संयोजक सृजना खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका ९ वटै वडाका सामुदायिक मेलमिलापकर्ता र न्यायिक समितिका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मेलमिलाप गराउँदाका अनुभव ,समस्या र चुनौतीहरुका साथै न्याय निरुपणमा सहजता ल्याउनको लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको उपप्रमुख खड्काले जानकारी दिइन् ।
कार्यक्रममा सामुदायिक मेलमिलाप केन्द्र र न्यायीक समितीले मिलाउन पाउने र नपाउने विवादका साथै मेलमिलाप सम्बन्धि विविध विषयहरुमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै जिल्ला अदालत रामेछापका न्यायधिश माधवेन्द्र रेग्मीले अदालतमा पनि मेलमिलाप केन्द्र रहेको बताउँदै अदालतले पनि मेलमिलाप कार्यलाई प्राथमिकता दिएको बताए ।
कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर मगरले अन्तरक्रिया कार्यक्रमले मेलमिलाप कर्ता र न्यायिक समिति सदस्यहरुलाई आएका विवादहरुमा न्याय निरुपण गर्न सहज हुने अपेक्षा लिएको बताए ।
रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी राम प्रसाद भट्राईले मेलमिलापलाई स्थानीय प्रशासनले समेत प्राथमिकता दिएर काम गरिरहेको बताए । सामान्य विवादहरु आउँदा दुवै पक्षलाई प्रशासनले समेत मिलाएर पठाउने गरेको उनले बताए । जिल्ला सरकारी वकिल कार्यलय रामेछापका प्रमुख कृष्ण प्रसाद बरालले न्यायीक समिति र मेलमिलाप केन्द्रले मिलाउन पाउने विवादहरुको बारेमा जानकारी गाराएका थिए । कार्यक्रममा उपप्रमुख एवम न्यायिक समितिका संयोजक सृजना खड्काले न्यायिक समिति मार्फत १७ वटा विवादहरु समाधान भइसकेको बताइन् ।