काठमाडौँ । पशुपतिमा भाेलि २० गते लाग्ने शिवरात्रि मेलाकाे सम्पूर्ण तयारी सकिएकाे छ । साे क्षेत्रमा सुरक्षाका लागि नियम कडाइ गरिएकाे छ । पशुपति क्षेत्रभित्र शिवरात्रिमा मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेच-बिखन तथा सेवन गर्न निषेध गरिएको छ ।शिवरात्रिकाे अवसरमा पशुपतिनाथ दर्शनमा अाउने भक्तजनकाे सुविधाका लागि विभिन्न धार्मिक सामाजिक संस्था तथा सेवा प्रदायक सरकारी एवं गैरसरकारी निकायबाट ५ हजार स्वयंसेवक परिचालन हुने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।
डा ढकालका अनुसार पशुपतिनाथका दर्शनार्थी/भक्तजनका लागि मूल मन्दिरका चारै ढोका खोलिनेछ ।शिवरात्रिलाई नै लक्ष्य गरी केही दिनयता नै पशुपति क्षेत्रलाई रङरोगन तथा सफासुग्घर बनाएर सजाइएकाे छ । पशुपतिकाे दर्शनका लागि यस वर्ष एकादशीदेखि नै दर्शनार्थीको उपस्थिति बढेकाे छ । नेपाल र भारतबाट चार हजार साधुसन्त तथा जोगीहरु पशुपति क्षेत्रमा भेला भइसकेको ढकालले बताए ।
शिवरात्रिमा हुने भक्तजनकाे घुइँचाे व्यवस्थापनका लागि चाबहिल मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट दुई लामकाे व्यवस्था गरिएकाे छ । यसैगरी जयबागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो पश्चिम ढोकाबाट एक लाम र बत्तीसपुतली, गौशाला तथा एअरपोर्ट गौशाला भएर पिङ्गलास्थान–सुमार्गी भवन अगाडि हुँदै चारशिवालय पञ्चदेवलकाे दक्षिण ढोकाबाट दुई लाम गरी बाहिरी रुपमा तीन स्थानमा दर्शनार्थीका लागि लाइनकाे व्यवस्था गरिएकाे छ । यसैगरी नित्य दर्शनार्थीका लागि बिहान ७ बजेभित्र भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट समेत प्रवेशको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
भीडभाडका कारण हुने सुरक्षा चुनाैतीलाई लक्षित गरी नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका समेत सुरक्षाकर्मी खटाइएकाे काेषले जानकारी दियाे । यस क्षेत्रकाेवातावरण स्वच्छ राख्न एक हप्तादेखि तीनवटै सुरक्षा निकाय, स्थाननीय तहलगायत संस्थाले सफाइ अभियान सञ्चालन समेत गरिरहेका छन् ।
शिवरात्रिमा यहाँ अाउने भक्तजनका लागि आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक, परिचारिका, औषधि र शय्यासहित नेपाली सेनाको मूल स्वास्थ्य शिविर र अन्य सहायक स्वास्थ्य शिविरहरु रहने समेत जनाइएकाे छ । साथै इमरजेन्सी सेवाका लागि एम्बुलेन्स रहने गरी स्वास्थ्यसँग सम्बन्धित करीब ५० संस्थाले सेवा प्रदान गर्ने काेषकाे दाबी छ ।
पशुपतिनाथ हिन्दूमार्गीका प्रमुख अाराध्य देव हुन् । ‘पाश’ अर्थात् बन्धनमा रहेकालाई मुक्ति दिने पशुपतिनाथको दर्शन गर्न भारतलगायत देशविदेशबाट ठूलाे मात्रामा साधुसन्त तथा भक्तजन यहाँ अाउने क्रम बढ्दै छ । स्वदेश र विदेश गरी भारतका विभिन्न मठमन्दिरका साधु, स्वामी तथा योगीहरु पशुपतिनाथ, डोलेश्वर, कालमोचन घाट आदिमा बस्ने गर्छन् ।