१६ फागुन, काठमाडौं । कुनै पनि दुर्घटना पूर्वसूचित हुँदैनन् । हरेक दुर्घटना अनपेक्षित हुन्छन् । मन्त्री रविन्द्र अधिकारी र पर्यटन व्यवसायी आङ छिरिङ शेर्पासहित ७ जनाको ज्यान जाने गरी ताप्लेजुङको पाथीभरा क्षेत्रमा बुधबार भएको हेलिकोप्टर दुर्घटना पनि न पूर्वसूचित थियो, न अपेक्षित । निश्चय नै यो दुर्घटना थियो । भवितव्य थियो ।
दुर्घटना भवितव्यपूर्ण हुँदाहुँदै पनि सरकारले यसबारे छानविन गर्न चार सदस्यीय समिति गठन गरिसकेको छ । के कारणले यत्रो दुर्घटना हुन पुग्यो र देशले यति ठूलो क्षति व्यहोर्नुपर्यो ? सरकारले यसको कारण पत्ता लगाउनकै लागि बुधबार पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छानविन समिति बनाएको हो ।
हरेक दुर्घटना पूर्वसूचित नभएता पनि घटना भइसकेपछि भने त्यसले केही सूचना छाडेर जान्छ । के–कस्तो असावधानीबाट बचेको भए दुर्घटना हुँदैनथ्यो भन्ने उत्तरसूचना दुर्घटना भैसकेपछि बुझ्न र महसुस गर्न सकिन्छ । दुर्घटनाले पुर्याएको क्षतिलाई पूर्ववत् अवस्थामा परिपूर्ति गर्न सकिँदैन, तर यसबाट भविश्यमा पाठ सिक्नचाहिँ अवश्य सकिन्छ । देशका आशलाग्दा युवा नेता पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनको हकमा पनि यही कुरा सत्य हो ।
ताप्लेजुङमा बुधबार भएको डाइनेस्टी एयरको हेलिकोप्टर दुर्घटनाबाट देशलाई पर्न गएको क्षतिको परिपूरण गर्न विल्कुलै सकिँदैन । तर, यसबाट पाठ सिक्न भने अवश्यै सकिन्छ ।
पाथीभरा मन्दिरबाट फर्कने क्रममा ताप्लेजुङको फुङलिङ नगरपालिकाको भीरमा भएको हेलिकोप्टर दुर्घटनाले केही गम्भीर प्रश्नहरु उब्जाएको छ । अब यी प्रश्नमाथि सम्बन्धित निकायले ध्यान दिन र आगामी दिनमा त्यस्तो कमजोरी नदोहोर्याउन गम्भीरतापूर्वक विचार पुर्याउनुपर्ने देखिन्छ ।
अब पर्यटनमन्त्री रविन्द्र अधिकारीहित ७ जनाको ज्यान जाने गरी भएको हेलिकोप्टर दुर्घटनाले उब्जाएका प्रश्नहरुमाथि छलफल गरौं ।
पहिलो प्रश्न– मन्त्री अधिकारीलाई कसले, किन लग्यो पाथीभरा ?
स्वयं पर्यटन मन्त्री रविन्द्र अधिकारीले तेह्रथुमको चुहानडाँडामा गरेको भाषणलाई आधार मान्ने हो भने उनी प्रस्तावित विमानस्थलको निरीक्षणका लागि प्रधानमन्त्री केपी ओलीको निर्देशनमा चुहानडाँडा पुगेका थिए । विमानस्थलको अवलोकन गर्नु मन्त्री अधिकारीको ड्युटी थियो, जुन उनले सफलतापूर्वक निभाए ।
तर, महत्वपूर्ण सरकारी कामका लागि नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक र इञ्जिनियरसमेतलाई लिएर तेह्रथुमको आठराई पुगेका मन्त्री अधिकारी आफ्नो ड्युटी सकेपछि राजधानी फर्किनुको साटो मन्दिर दर्शनतिर लागे, जुन सरकारी ड्युटी थिएन ।
के मन्त्री अधिकारी आफैं पाथीभरा दर्शनमा जान चाहन्थे ? या उनको साथमा रहेका कर्मचारी वा व्यवसायीको लहैलहैमा लागेर उनी पाथीभरातिर लागे ? अब यो प्रश्नको जवाफ या त नेकपाका नेताहरुसँग छ, या प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग ।
यो पनि पढ्नुहोस् : ताप्लेजुङमा ढलेका उड्डयन क्षेत्रका दुई धरोहर
नेकपाकै नेतासमेत रहेका प्रदेश सांसद तेजमान कन्दङबाले चुहानडाँडास्थित कार्यक्रमस्थलबाटै बुधबार अनलाइनखबरलाई भनेका थिए– ‘मलाई त उहाँहरु सीधै काठमाडौं गएजस्तो लागेको थियो । तर, पाथीभरा मन्दिर दर्शन गर्न जानुभएछ ।’
धर्म निरपेक्ष संघीय गणतन्त्र नेपालका मन्त्री रविन्द्र अधिकारी कम्युनिष्ट एवं भौतिकवादी विचारधाराबाट प्रेरित युवा नेता थिए । यदि मन्त्री अधिकारी ‘आफूमाथि लागेको दोष कटाउन’ पाथीभरा मन्दिरमा पुगेर पूजा गर्न लालायित थिए भनेर हामीले अनुमान लगायौं भने यो उनीमाथिको अन्याय हुन्छ कि हुँदैन ? यो पनि अनुत्तरित प्रश्न हो ।
यो अवस्थामा मन्त्री अधिकारी पर्यटन व्यवसायी आङ छिरिङ शेर्माको आग्रहमा वा प्रधानमन्त्री कार्यालयमा कार्यरत युवराज दाहालको आग्रहमा एकचोटि पाथीभरा पुगौं न त भनेर त्यतातिर मोडिएको पो थिएन कि ? शायद उनी पाथीभरा नगई चुहानडाँडाबाट सरकारी काम सकेर सिधै काठमाडौं फर्केका भए यो दुर्घटना हुने थिएन कि ? यो अर्को निरुत्तरित प्रश्न हो ।
पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा ठूला व्यवसायी हुन् भन्नेमा कुनै विवाद छैन । तर, उनी पर्यटनमन्त्री अधिकारीसँगै चुहानडाँडा किन गएका थिए ? सरकारी अधिकारीहरुले अवलोकन गर्नुपर्ने चुहानडाँडा विमानस्थलमा व्यवसायी शेर्पालाई किन लगिएको थियो ? के उनी डाइनास्टिक हेलिकोप्टरका मालिक भएकैले सो हेलिकोप्टरमा मन्त्रीसँगै आफूसमेत चढेका हुन् ? यो प्रश्न पनि निरुत्तरित छ ।
चुहानडाँडा विमानस्थलको ०६८ सालमा सर्भे गर्दा २९ करोड लागत निस्किएको थियो । यस वर्ष नयाँ कन्सल्टेन्सीमार्फत गरिएको अर्को सर्भेले ८७ करोड लागत निकालेको सांसद कन्दङवा बताउँछन् । के यो विमानस्थल निर्माणसँग आङ छिरिङ पनि जोडिएका थिए ? अन्यथा, उनी मन्त्री अधिकारीसँगै चुहानडाँडा जानुको अर्को कारण के थियो ?
कतिपय मानिसहरुको दाबी के छ भने पाथीभरा मन्दिरको गन्तव्य मन्त्री अधिकारीको नभएर पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको छनोट थियो । शेर्पाले ओली सरकारसँग मिलेर पाथीभरामा केबलकारको परियोजना बनाइरहेको दाबी गरिँदै आएको छ ।
तर, यो कुरालाई आधार मान्ने हो भने पनि मन्त्री अधिकारी र आङ छिरिङको टोलीले बुधबार पाथीभरा पुगेर मन्दिरमा पूजाआजा गर्नुबाहेक अन्य कुनै स्थलगत अवलोकन वा छलफल गरेको देखिएन । हेलिकोप्टरबाटै भूगोल हेर्दै हिँडेका हुन् भने त्यो बेग्लै कुरा ।
पाथीभरा मन्दिरका पुजारी डिल्लीरमण आचार्य अनलाइनखबरसँग भन्छन्– ‘मन्त्रीज्यूहरुले लगभग १५ मिनेटजति पूजा गर्नुभयो । त्यसपछाडि बाहिर बस्न गाह्रो भएकाले उहाँहरु हेलिकोप्टरमै बस्नुभयो । मन्त्रीज्यूसँग हाम्रो त्यस्तो केही कुराकानी भएन । उहाँहरु चिया खाउञ्जेल हेलिकोप्टरमा त्यस्तै १५/२० मिनेटजति बस्नुभयो होला ।’
अनलाईन खबरबाट साभार