काठमाडौं । नख्खुस्थित एनसेल टावर नजिकै बम विस्फोट भएको केही समयपछि काठमाडौंको नक्सालस्थित आँगन मिठाई पसलमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मिठाइ पसलभित्र प्रेसर कुकर बमजस्तो देखि शंकास्पद बस्तु फेला परेको हो । प्रहरीले शंकास्पद बस्तु फेला परेपछि मिठाइ पसल खाली गरेर पहरा दिइरहेको छ । शंकास्पद बस्तु डिस्पोजका लागि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गइसकेको प्रहरीले जनाएको छ । राजधानीमा एकाएक बम फेला परेपछि स्थानीय त्रसित बनेका छन् । सो बम कसले राखेको हो भन्नेबारे प्रहरीले खोजी भइरहेको जनाएको छ ।
एनसेलमाथि फेरि बम हमला सुरु, ललितपुरस्थित मुख्यालयमा विस्फोट, २ जना घाइते
काठमाडौं । राज्यलाई तिर्नु पर्ने अर्बौ राजस्व नतिरेको आरोप खेप्ने गरेको एनसेलको मुख्यालयमै आक्रमण भएको छ। ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि अज्ञात समूहले शक्तिशाली बम बिस्फोट गराएको छ।
बम बिस्फोटमा परी २ जना घाइते भएको प्रहरीले जनाएको छ । बिस्फोटबाट वरिपरीका घरहरूमा समेत क्षति पुगेको बताइएको छ।
घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको र विस्तृत विवरण आउन बाँकी रहेको बताएको छ। यसअघि बाग्लुङबाट प्राप्त समाचार अनुसार त्यहाँ पनि बम आक्रमण भएको छ। बागलुङका विभिन्न ठाउँमा रहेका दूरसञ्चार कम्पनी एनसेलका टावरमा बिहीबार राति अज्ञात समूहले आगलागी गरेको हो।
बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण गरिएको हो । आगलागिबाट टावरमा भएको क्षतिको विषयमा पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
टावरमा कसले के प्रयोजनका लागि आगलागी गरेको भन्ने विषयमा समेत कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताए।
टावरमा आगलागी भएको देखेपछि स्थानीयको खबरका आधारमा घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान थालेको छ । आगलागी भएका टावरमा एनसेलले पनि कर्मचारी खटाएर मर्मतको काम थालिसकेको प्रहरीले जनाएको छ ।
खासगरि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विगतमा कर नतिरेको भन्दै एनसेलमाथि आक्रमण गर्दै आएको छ।