काठमाडौं । मुलुककै जेठो अस्पताल वीर हस्पिटलको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् । मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधी र २० वर्षीय भूमिकुमार चौधरी रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका सप्तरीकै सचितानन्द चौधरीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको आन्तरिक रक्तश्राव जारी छ ।
यद्यपि, कम्मरमुनिबाटै रक्तश्राव भइरहेकाले आत्तिहाल्नु पर्नै अवस्था छैन । प्रहरीका अनुसार तीन जनै निर्माण मजदुर हुन् । सो घटना बिहीबार राति भएको हो । सामान माथि लैजानलाई बनाइएको अस्थायी लिफ्टको तार तलामाथिबाट चुडिएर उनीहरु खसेका थिए ।
त्यसक्रममा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अर्का व्यक्तिलाई हस्पिटल भर्ना गरिएको एक घण्टामा चिकित्सकहरुले मृत घोषित गरेका थिए । दुई जनाको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।