दुखद खबर : कोइरालाको घरमा चल्यो रुवाबासी ! बसको ठक्करबाट श्रीमान श्रीमतीको मृत्यु

  • प्रकाशित मिति: शुक्रबार, माघ २५ २०७५
  • तामाकोशी

काठमाडौ । चितवनमा आज (शुक्रबार)अपरान्ह भएको सवारी दुर्घटनामा परी नेपाली काँग्रेसका नेता र उनकी श्रीमतीको ज्यान गएको छ । भरतपुर महानगरपालिका वडा नं। ८ स्थित सिताराम चोकमा ट्रक र बसमा मोटरसाइकल ठोक्किदा काँग्रेस नेता ५० वर्षीय सुकदेव कोइराला र उनकी श्रीमती ४५ वर्षीया अम्बिका कोइरालाको ज्यान गएको प्रहरीले जनाएको छ ।

भरतपुरबाट गीतानगर जाँदै गरेको ना ४ ख ४९८२ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको ना ४२ प ४२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ट्रकले ठक्कर दिएको मोटरसाइकल पुनः गीतानगरबाट भरतपुर आउँदै गरेको ना ७ ख १५६० नम्वरको बसमा ठक्कर खाएको थियो । ट्रक र बसको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बस, ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय गीतानगरले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । मृतक कोइराला गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा नं.१३ को अध्यक्षमा नेपाली काँग्रेसबाट चुनाव लडेका थिए । उनी तत्कालिन माओवादी केन्द्रका उम्मेद्वार प्रकाश दवाडीसंग पराजित भएका थिए ।