रामेछाप जिल्लाभर वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

  • प्रकाशित मिति: बुधबार, माघ ९ २०७५
  • तामाकोशी

रामेछाप । माघ ९ गते,
पश्चिमी वायुको प्रभावका कारण रामेछाप जिल्लाको अधिकांश स्थानमा बुधबार पानी परेको छ । गएरातिदेखि नै रामेछाप सहित देशका अधिकांश स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावत पश्चिमबाट मध्य हुँदै पूर्वसम्म पुगेको छ । नेपालको पश्चिम क्षेत्रमा सोमबारदेखि नै बदली हुँदै आएको भए पनि हिजोदेखि पानी पर्न थालेको हो । यो वर्षको हिउँदमा रामेछापमा पानी परेको यो पहिलो पटक हो ।
जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण पहाडी र हिमाली क्षेत्रको जनजीवन प्रभावित भएको छ । माघे झरिका कारण सदरमुकाम मन्थलीमा सदा भन्दा यातायातका साधन कम गुडेका छन् भने बजारमा मानिसको भिभाड समेत कम भएको छ । जिल्लाका उच्च भागका गुम्देल, गौश्वरा , बाम्ती , प्रीती,गुप्तेश्वर, कुभकास्थली, रस्नालु दोरम्बा, डडुवा लगाएतका विभिन्न ठाउँहरुमा हिमपात सहित पानी परेपछि अत्याधिक जाडो बढेको छ ।
यस्तै रामेछाप र दोलखा जिल्लाको सीमाना पर्यटकीय क्षेत्र सैलुङमा हितपात भएको छ । मंगलवारबाट पानी परेसँगै सैलुङ सहित आसपासका क्षेत्रमा हिमपात भएको हो । हिउ परेसँगै हिउ खेल्न आन्तरिक पर्यटकहरुको समेत भिड बढेको छ । दोरम्बा गाउँपालिकाले सैलुङसम्म जाने सडकको स्तरउन्नती गरेसँगै हिउ खेल्नको लागि आन्तरिक पर्यटकहरु जाने गरेका छन् । दोरम्बा गाउँपालिकाका अध्यक्ष कमान सिंह मोक्तानले हिउ खेल्न आन्तरिक पर्यटकहरु आउने क्रम सुरु भएको जानकारी दिए ।