जनता आवास कार्यक्रमः एक स्थानीय तहमा पाँच वटा भवन बनाइने

  • प्रकाशित मिति: आइतबार, माघ ६ २०७५
  • तामाकोशी

मनोज भट्टराई
ओखलढुङ्गा समाचारदाता

ओखलढुङ्गा, माघ ६ गते । ओखलढुङ्गामा ४० वटा सुविधा सम्पन्न भवन बनाईने भएको छ । १ नम्बर प्रदेश सरकारले जनता आवास कार्यक्रम मार्फत जिल्लाका सबै स्थानीय तहमा ४० वटा भवन निर्माण गरीने भएको हो ।



प्रत्येक स्थानीय तहमा पाँच वटाका दरले जिल्लामा ४० वटा भवन निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको प्रदेश १ (ख) का सांसद मोहनकुमार खड्काले बताउनु भयो । उहाँका अनुसार ओखलढुङ्गामा जनता आवास कार्यक्रम अन्तरगतका भवन बनाउन प्रदेश सरकारले असि लाख बजेट विनियोजन गरेको छ ।

प्रकोपको सामना गरेका वा जुनसुकै आपत्तिमा परेर घरबार विहिन भएकाहरुलाई तत्कालका लागि बस्ने ठाँउ हुने र जनता आवास कार्यक्रमलाई व्यवस्थित बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने सांसद खड्काकोे भनाई छ । जिल्लाका कतिपय वडाहरु साविकको एउटै गाविसलाई टुक्राएर बनाईएकोले सरकारको निति अनुसार स्थानीय सरकारले बजेट सदुपयोग गरेर सबैको पायक पर्ने सुरक्षित ठाँउमा भवन बनाउनुपर्ने सांसद खड्काले बताउनु भयो । प्रदेश नम्बर १ का १४ वटा जिल्ला मध्ये सबैभन्दा बढी विपद्कोे जोखिममा ओखलढुङ्गा रहेकाले हुन सक्ने जनधनको क्षति रोक्न जनप्रतिनिधिहरुले दुरदर्शी योजना बनाउनुपर्ने उहाँको भनाई छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको बजेटले नयाँ आवास गृह निर्माण हुने भएको हो । कतिपय वडामा पुरानै सरकारी भवनहरु पनि छन् । नभएका वडाहरुमा जनता आवास कार्यक्रम अन्तरगतका भवन बनाउँदा जिल्लाका सबै ठाँउका नागरिकलाई सहज हुने जनाईएको छ ।