नागरिक समाज र स्थानीय सरकार मिलेर जानुको विकल्प छैनः जिसस प्रमुख खड्का

  • प्रकाशित मिति: शुक्रबार, माघ ४ २०७५
  • तामाकोशी

रामेछाप, माघ ४ गते ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले नागरिक समाज र स्थानीय सरकार सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।
युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र इन्सेकको सहजिकरणमा सञ्चालित नागरिक समाजः पारस्पारिक जवाफदेहीता परियोजनाको आयोजना तथा मानवअधिकार संरक्षण सञ्जाल रामेछापसँगको समन्वयमा शुक्रबार मन्थलीमा भएको नागरिक समाज तथा स्थानीय सरकार बिचको सहकार्यको अवसर र चुनौति बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै खड्काले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै खड्काले नागरिक समाज र स्थानीय सरकार एक आपसमा पक्षप्रतिपक्ष नभई सहयोगिको हिसावले अघि बढ्नु पर्ने बताए । उनले अनावश्यक रुपमा आरोप प्रत्यारोप तथा कसैलाई रंग लगाउने कुरा गलत भएको बताए ।
कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भूवन श्रेष्ठले स्थानीय सरकार जनशक्ति नभएर अल्मलिएको अवस्थामा सरकारले चाहेको जस्तोसुकै खालको जनशक्ति दिन नागरिक संस्था तयार र सक्षम रहेको बताए । उनले नागरिक संस्थाले हरेक खालका काम र सेवा गुणस्तरीय दिन सक्ने उनले बताए ।

कार्यक्रममा नेपाल वार एसोशियसन रामेछापका अध्यक्ष बिचारसिंह तामाङ्ले सबैले विधिको शासनलाई टेकेर अघि बढे सम्बन्ध आफै सुधार भएर जाने बताए ।
नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठले अहिले सरकार र पत्रकार तलदेखि माथिसम्मनै पक्ष र प्रतिपक्ष जस्तो देखिएकोले सो खाडललाई पुरेर अघि बढ्नु पर्ने बताए ।
कार्यक्रममा मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक अधिवक्ता पाण्डव प्रसाईँले नागरिक समाज र स्थानीय सरकार बीचको सहकार्यको अवसर र चुनौती विषयका अवधारणापत्र प्रस्तुत गरेका थिए । अवधारणापत्रमा नागरिक समाज र स्थानीय सरकार बीचका सहकार्यका धेरै सम्भावना रहे पनि त्यसमा केही चुनौती रहेकाले त्यसलाई घटाउँदै लैजानु पर्ने उल्लेख छ ।
अवधारणापत्र माथि निर्वाचित जनप्रतिनिधि, नागरिक संस्थाका प्रमुख एवं प्रनिनिधि, कानुनव्यवसायी, पत्रकार लगालतले टिप्पणी गरेका थिए । कार्यक्रमको सहजिकरण इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले गरेका थिए ।