मनोज भट्टराई
ओखलढुङ्गा, माघ ४ गते । भूकम्पबाट घर भत्किएका भूकम्प पीडितले दिएका पुनरावेदन सुनुवाइ सुस्त हुँदा आक्रोशित भएका छन् । प्राविधिकले घर सर्भेक्षण गर्दा गैर लाभग्राही कायम भएका पीडितहरुले दिएका पुनरावेदन सुनुवाई सुस्त हुँदा उनीहरु आक्रोशित भएका हुन् ।
अधिकांशका निवेदन सनुवाइका चरणमै पुगेका छैनन् । तीन जनाको सुनुवाइ शुरु भएको तीन महिना बिते पनि टुंगोमा पुगेको छैन । चिसंखुगढी गाउँपालीकाका शारदा निरौला, ईश्वरी प्रसाद निरौला र कुल प्रसाद निरौलाका निवेदन कात्तिकबाटै सुनुवाइ चरणमा पुगे पनि अहिलेसम्म जिल्लामा सुनुवाइ सकिएको जानकारी नआएको प्राधिकरणको जिल्ला आयोजना कार्यन्वयन इकाईका सूचना अधिकारी सुनिता अधिकारीले बताउनु भयो ।
०७५ असोजमै दर्ता भएका निवदेन अहिलेसम्म सुनुवाइ नभएपछि भूकम्प पीडित आक्रोशित भएका छन् । ०७२ को भुकम्पले घर भत्किएर टहरामा बसोबास गर्दै आएका पीडितले घर बनाउन पाउनु पर्ने सरकारी अनुदानबाट बञ्चित भएपछि पुनरावेदन गरेका थिए । ओखलढुंगाबाट प्राधिकरणमा परेका ६ सय ५० जना पीडितको पुनरावेदन सुनुवाइ हुन सकेको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनरावेदन समितिमा दर्ताका भएका निवेदन महिनौं वितेपनि सुनुवाइ नभएका हुन । गैर लाभग्राही सूचीमा सूचिकृत भएपछि भुकम्प पिडीतले दिएका पुनरावलोकनका निवेदनको सुनुवाइ सुस्त भए पछि भुकम्प पिडीडहरुले आफुहरु अन्यायमा परेको बताउँछन् । आफूहरुले दिएका निवेदन सुनुवाइ सकिए–नसकिएको जानकारी नआएको भूकम्प पीडित शारदा निरौलाले बताउनु भयो । आफूहरुलाई प्राधिकरणले अन्याय गरेको उहाँको भनाइ छ ।
ओखलढुंगामा पुनर्निर्माण प्राधिकरणले गैह्र लाभग्राही भनेर १ हजार ६ सय जनालाई लाभग्राही सूचीबाट हटाएपछि उनीहरुले पुनरावदेन गरिरहेका थिए । गैह्र लाभग्राही कायम रहेका ओखलढुंगाका ६ सय ५० जना पीडितले पुनरावेदन दर्ता गराएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा रहेको पुनरावेदन समितिले उजुरी दर्ता गरे पनि सुनुवाइ सुस्त देखिएको छ । पुनरावेदन सुनुवाइका बारेमा प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेलाई पटक–पटक सम्पर्क गरे पनि सम्पर्कमा नआउने र टेलिफोन नउठाउने गर्नु भएको छ ।
