विद्युत महसुल नतिर्नेमाथि कडा रुपमा उत्रदै विद्युत प्राधिकरण रामेछाप, जिल्ला कारागारको समेत लाइन काट्ने तयारी

  • प्रकाशित मिति: मंगलबार, माघ १ २०७५
  • तामाकोशी

रामेछाप । माघ १ गते,
नेपाल विद्युत प्रधिकरणले रामेछामा विद्युत महसुल नतिर्ने ग्राहाकहरुको विद्युत लाइन काट्न सुरु गरेको छ । प्रधिकरणलेले कारागार शाखा रामेछापले समेत विद्युत महशुल नतिरेको भन्दै विद्युत लाइन काट्ने पत्र पठाएको छ ।
कारागारले प्रयोग गरेको विद्युतको ८ लाख रुपैयाँ महशुल तिर्न नसक्दा नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन काट्ने पत्र कार्यालयमा पठाएको हो । कारागार कार्यालयले गएको आर्थिक वर्ष २०७४÷०७५ देखिकै विद्युतको रकम तिर्न बाँकी रहेको छ । यस आर्थिक वर्षको सुरुदेखि अहिलेसम्म विद्युतको महसुल नबुझाएपछि कार्यालयको लाइन काट्न पत्राचार गरिएको नेपाल विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारीले जानकारी दिए । पत्रअनुसार समयमा रकम नबुझाएमा तत्काल विद्युत लाइन काटिने प्राधिकरणका प्रमुख अधिकारीले बताए ।
जिल्ला कारागार कार्यालयमा बजेट अभाव भएकै कारण विद्युत, खानेपानी र औषधिलगायतको बिल तिर्न नसकेको जिल्ला कारागार कार्यालय रामेछापका प्रमुख प्रमोद अधिकारीले जानकारी दिए । कारागारमा मासिक एक लाख रुपैयाँ विद्युतको महसुल उठ्छ भने खानेपानीको ४५ हजारदेखि ५० हजारसम्म बिल उठ्ने गरेको छ । कार्यालयमा रकम अभाव भएपछि भदौदेखि नै थप रकम माग गरिएको भए पनि विभागले अहिलेसम्म नपठाएको उनले बताए ।
नेपाल विद्युत प्राधिकरण रामेछापले लामो समयसम्म पनि विद्युतको रकम नतिर्दा ५४ लाख रुपैयाँ रकम बक्यौता बसेको भन्दै त्यसलाई उठाउनको लागि सबै क्षेत्रको विद्युत लाइन काट्ने तयारीमा लागेको जनाएको छ । कारागारबाहेक विद्युत महसुल नबुझाउनेहरुमा रामेछाप नगरपालिका वडा नम्बर–७, मा रहेको छत्तिवने खानेपानी उपभोक्ता समितिको २ लाख ८९ हजार ८ सय ९६ रुपैयाँ रहेको छ । खाँडादेवी गाउँपालिका वडा नम्बर–३ भिरपानीमा रहेको भिरपानी खानेपानी उपभोक्ता समितिको ४ लाख १७ हजार रुपैयाँ र मन्थली नगरपालिका वडा नम्बर–६, कुनाउरीमा रहेको कुनाउरी सिंचाइ उपभोक्ता समितिले २ लाख ५० हजार रुपैयाँ बक्यौता रहेको छ ।