दार्चुला बासीलाई खुसीको खबर ! दार्चुला जिल्लाका नौ वटै स्थानीय तहमा बैंक स्थापना

  • प्रकाशित मिति: आइतबार, पुष २९ २०७५
  • तामाकोशी

काठमाडौं – /दार्चुलाको अपिहिमाल गाउँपालिकामा र व्यास गाउँपालिकामा माछापुच्छ्रे बैंकले आइतबार देखि सेवा सुरु गरेको छ । दार्चुलाको दुर्गम मानिने ब्यास र अपिहिमाल गाउँपालिकामा बैंकले हेलिकप्टरमार्फत सामान ढुवानी गरेपछि बैंक स्थापना भएको हो । अहिलेसम्म स्थानीय तहमा बैंकको सेवा नहुँदा कार्यालय तथा सर्वसाधारणले सास्ती व्योहोर्नु परेकोमा अब भने समस्या समाधान हुने छ । आज एक औपचारिक कार्यक्रम गरि अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले उद्घाटन गरि आजबाट कारोबार शुरु गरी ग्राहकहरुलाई सेवा दिन लागेको बताउनु भयो ।

आजै देखि कारोबार सुरु गरेको माछापुच्छ्रे बैंकमा १० देखि १५ जनाले खाता खोल्नुको साथै ५ लाख रुपैँया जम्मा भएको माछापुच्छ्रे बैंक शाखाका असिस्टेन्ट उमेश राज बडुले जनकारी दिनु भयो।
अपिहिमाल गाउँपालिकामा बैंक स्थापना हुदाँ बैकिङ कारोबार गर्न सदरमुकाम आउनु पर्ने बाध्यता हटे संगै स्थानीयहरु खुशी भएको अपिहिमाल गाउँपालिका स्थानीय मान सिंह विष्टले बताउनु भयो । यसअघि दार्चुलाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा मात्र बैंक स्थापना भएका थिए । गत वर्षबाट मार्मा, नौगाड, मालिकार्जुन, लेकम र दुहुँ गाउँपालिकामामा नीजि क्षेत्रका बैंकहरु स्थापना भएका छन् । अपीहिमाल गाउँपालिका र व्यास गाउँपालिकामा माछापुच्छे« बैंकको शाखा स्थापना भए संगै दार्चुलाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ ।