काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले गरेको प्रतिवद्धता पूरा नगरेको भन्दै १६ औं सत्याग्रहमा रहेका डाक्टर गोविन्द केसीको समर्थनमा जनता सडकमा उत्रिएका छन् । ओली सरकारविरुद्ध आन्दोलन चर्काउँदै समर्थकले शनिबार माइतीघरस्थित मण्डलामा शनिबार प्रदर्शन गरिएका छन् ।
सरकारसँगको सम्झौता कार्यान्वायन नगरेको भन्दै डा.केसीले इलाममा अमरण अनसन सुरु गरेका थिए । डा.केसीका समर्थकहरूले माफियाका ताती, सरकारका साथी, मेडिकल शिक्षामा भएको लुटतन्त्र बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
केसीले सम्झौता विपरीत संसदको शिक्षा तथा स्वास्थ समितिले चिकित्सा शिक्षा विधेयक संसदमा पठाएको भन्दै बुधबार अपरान्ह पाँच बजेबाट इलाममा सत्याग्रह सुरु गरेका थिए । डा. केसीले सरकार इमान्दार नभएकोले सोह्रौ सत्याग्रह बस्नु परेको बताउँदै आएका छन् । उनले माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भए पनि यसमा निश्चित निजी मेडिकल कलेजमा नेताहरुको लगानी रहेकाले उनीहरुको पक्षमा काम गरेको बताएका छन् ।
केसीले १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गर्न माग गरेका छन् । यसअघि शिक्षा विधेयकका २२ बुँदा संसोधन गर्ने सहमति भएको थियो । केसी गत असार १६ गते १५ औं सत्याग्रह जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बसेका थिए। पछि सरकारले उनलाई उपचारका लागि भन्दै काठमाडौं ल्याएको थियो । डा. केसीको १५औँ अनसन २७ दिनमा तोडिएको थियो । केसीले इलाम नगरपालिकाको फुलगाछिमा रहेको उनका एक समर्थकको घरमा सत्याग्रह जारी राखेका छन् ।