गोकुलगंगा, पौष २७ गते। रामेछापको गोकुलगंगा गाउपालिकाका सर्वसाधारणलाई लक्षित गरी दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन हुदैछ । गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वयमा उक्त घुम्ती शिविर सञ्चालन भएको हो ।
आयोजकका अनुसार शिविर मार्फत पहिलो दिन विहिबार मात्रै १ सय ४० जना सर्वसाधरणले नागरिकता लिएका छन् । विभिन्न कारणले नागरिकता लिन नसकेका तथा सदरमुकाम आउन नसकेका स्थनीयलाई लक्षित गरी एकीकृत घुम्ती शिविर मार्फत नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।
शिविरमा १ सय ५० जनाले फोटो सहितको मतदाता नामवालीमा नामा दर्ता गराएका छन् भने १० जनाले व्यवसय दर्ता तथा नविकरण गरेका छन् ।
गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले गाउँघरबाटै नागरिकता प्राप्त गरेपछि गाउँपालिकावासी खुसी भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘नागरिकता बनाउनको लागि घण्टौ धाएर सदरमुकाम जानु पर्ने बाँध्यता हटाएर गाउँपालिकाबाटै नागरिकता वितरण हुनु राम्रो काम हो ।’
गोकुलगंगा गाउपालिकाको वडा नम्बर ३ को कार्यलय रस्नालुबाट प्रबाह गरिएको सेवामा वडा नं. १ देखि वडा नम्बर ६ सम्मका स्थानीयको सहभागीता रहेको गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिब कुमार राइले जानकारी दिनुभयो । बाँकी सेवाग्राहीले शुक्रबार पनि सेवा लिन सकिने भएकाले मौकाको फाइदा लिन प्रमुख प्रशासकीय अधिकृत राईले पालिकाबासीलाई आग्रह गर्नु भएको छ । शिविर विहिबार देखि शुक्रबार सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।