बाजुरा, पुष २५ बाजुराको बुढीनन्दा नगरपालिकामा छाउगोठमा आगोलागी हुदा एक महिलासहित उनका दुई छोराको मृत्यु भएको छ । बुढीनन्दा–९ अंगपानीको भुगेचौउरमा छाउगोठमा आगलागी हुँदा ३५ वर्षकी अम्बा बोहोरा र उनका दुई छोरा ९ वर्षका सुरेश तथा ७ वर्षका रमितको मृत्यु भएको हो । बोहोरा मंगलबार बेलुका खाना खाएर घरसँगै जोडिएको टिनले छाएको साँघुरो छाउगोठमा सुतेकी थिइन् । उनीसँगै सुत्न दुई छोराहरु पनि गएका थिए । राति न्यानोका लागि छाउगोठमा बालिएको आगोका कारण उनीहरुको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
घटना राति नै भएको भए पनि बिहान मात्रै थाहा भएको थियो । अम्बाकी सासुले बिहान बुहारीलाई चियाखान बोलाउन जाँदा घटना थाहा भएको हो । गाउँमा हिउँ परेको र जाडो निकै रहेकाले छाउगोठमा बसेकी अम्बाले आगो बालेकी थिइन् । साँघुरो छाउगोठ त्यसमाथि धुवाँ निस्कने प्वाल नभएकाले उनीहरु निस्सासिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । अम्बाको घरमा उनीसहित दुई छोरा तथा सासु–ससुरा थिए । उनका श्रीमान भने गएको मंसिरमा रोजगारीका लागि भारत गएको र घटना थाहा पाएपछि आँदै गरेको स्थानीयले बताएका छन् ।जनता टाईम्सबाट