मुम्बईको जेजे अस्पतालमा १६ वर्षे किशोरी भर्ना छिन् । उनी ७० प्रतिशत जेलिसकेकी छिन् । उनको स्थिती गम्भीर भएको डाक्टर बताउँछन् । उनको यस्तो हालतको जिम्मेवार उनका आफ्नै बुवा हुन् । विभिन्न भारतीय मिडियामा छापिएको रिपोर्टमा बताइए अनुसार किशोरीका बुवाले नै उनलाई जलाएका हुन् । तर किन ? किनभने उनको बुवालाई छोरीले निकै लामो समयसम्म फोनमा कुरा गरिरहेका कारण रिस उठेको थियो । बुवाले फोनमा कुरा गर्न बन्देज गरेका थिए, उनले मानिनन्, त्यसकारण बुवालाई निकै रिस उठ्यो र छोरीलाई मट्टितेल खन्याएर आगो लगाइदिए ।
के हो मामला ?
मुम्बई नजिकै एउटा गाउँ छ, पालघर । १६ वर्षे जारा (परिवर्तित नाम) आफ्नो परिवारसँगै बस्थिन् । उनी कुनै घरमा कामदार थिइन् । उनका ४० वर्षका बुवा मोहम्मद मंसुरीको कुनै स्थायी जागिर थिएन । दैनिक ज्यालादारीमा काम गर्थे । सोमबार अर्थात् डिसेम्बर ३१ को दिन जब उनी घर आए, त्यतिबेला जारा फोनमा कसैसँग कुरा गरिरहेकी थिइन् ।
पुलिसका अनुसार जब मोहम्मद घर पुगे तब दिउँसो २ बजेको थियो । जाराले फोनमा कुरा गरिरहेको देखेर उनले फोन काटिदिन इशारा गरे । जाराले बुवाको कुरा मानिनन् तब मोहम्मदलाई लाग्यो कि उनी कोही केटासँग कुरा गरिरहेकी छिन् । मोहम्मदले छोरीको कतै प्रेमी त छैनन् भन्दै शंका गर्न थाले । आफूलाई धेरै बेरसम्म फोनमा कुरा गरेको फिटिक्कै मन नपर्ने जारालाई बताइरहेका थिए ।
तरपनि जाराले सुनेको नसुनै गरिन् । मोहम्मदको रिसको पारा निकै माथि चढिसकेको थियो । उनको हातबाट फोन खोसे, जमिनलाई पछारे । जारालाई बेस्सरी कुट्न सुरु गरे । उनकी आमा पनि घरमा थिइन् । रोक्ने कोसिस गरिन् तर मोहम्मद रोकिएनन् । जारालाई कुटेरै किचनसम्म पुर्याए । स्टोभबाट मट्टिले निकाले, जारामाथि खन्याए र त्यसपछि आगो लगाइदिए ।
जलिरहेको अवस्थामा जारा घरबाट बाहिर भागिन् । मद्दतका लागि चिच्याइन् । उनकी आमा पनि उनको पछाडि दौडिइन् । छिमेकीले जारामाथि पानी खन्याए तर त्यतिबेलासम्म जारा निकै जलिसकेकी थिइन् । उनलाई तुरुन्त अस्पताल पुर्याइयो । डाक्टरले उनी ७० प्रतिशत जलिसकेको बताउँदै उनको स्थिती गम्भीर भएको जानकारी दिए ।
यता पुलिसले मोहम्मदलाई पक्राउ गर्यो । सोधपुछमा मोहम्मदले भने, ‘जारा घण्टौंसम्म फोनमा कुरा गर्थिन् । तर उनले कहिले पनि कोसँग कुरा गर्ने गरेको बताइनन् । त्यसकारण रिसले आगो लगाइदिएको हुँ ।’