काठमाडौँ, १७ पुस । राष्ट्रिय सभाकी सांसद कोमल वलीले आफ्नो यही वर्ष (२०१९) भित्रै स्वयम्बर हुने खुलासा गरेकी छिन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा गुरु मञ्जरी गु्रपद्धारा सञ्चालित ‘माइस्वयम्वर डटकम’को उद्घाट्न गर्दै वलीले यस्तो बताएकी हुन् ।उनले भनिन्,‘स्वयम्बरको खोजीमा रहेकी मान्छेले नै माइस्वयम्बर डटकम सार्वजनिक गर्नुपरेको छ, यही वर्षभित्र मेरो स्वयम्बर भेटिन्छ कि क्या हो ? २०१९ को पहिलो दिनमा माइस्वयम्बर डटकमको उद्घाटन गरेकी छु, यो साल वर भेटिने छ । मेरो पनि यही साल स्वयम्बर हुन्छ ।’ सांसदले यसो भनिरहँदा उपस्थितिका तर्फबाट शुभकामना र तालि बजेको थियो ।
सांसद वलीले हिन्दु धर्म वैज्ञानिक रहेको बताएकी छिन् । उनले भनिन्,‘हाम्रो हिन्दू धर्म विज्ञानभन्दापनि अगाडि छ । हाम्रो संस्कृति, हिन्दुधर्म विज्ञानमा आधारित छ, विज्ञानभन्दा पहिले छ, हामी नेपाली हिन्दु महिलाहरु मंगलबार बर्त बस्छौं, हिन्दु परम्पराले शरिरलाई स्वस्थ र मजबुद बनाउँछ भन्ने छ, हालै नोवेल पुरस्कार विजेताहरुले गरेको व्यापक अनुसन्धानले १५/१५ दिनमा एकचोटी भोको बस्दा शरिरलाई फाईदा हुने विश्वलाई जानकारी दिए, तर हाम्रो देशमा त यो प्रक्रिया धेरै लामो समयदेखि चल्दै आएको कुरा हो नि ।’
आज टोपी दिवस परेको सुनाउँदै उनले आफ्नो संस्कारलाई बचाईराख्नको लागि सबैले प्रयास थाल्नुपर्ने बताईन् । उनले भनिन्,‘हिन्दुधर्मको मान्यताअनुसार जोडिएका सम्बन्धहरु सहजै टुट्न गाह्रो हुन्छ, यज्ञ र मण्डपमा अग्निसामु हिन्दु कर्मकाण्डबाट विवाह गरिन्छ, आजकै दिन माइस्वयम्बर डटकम उद्घाटन गर्नुपर्यो ।’
सांसद वलीले नेपाली हिन्दुहरु उदार भएकाले विश्वका संस्कृतिलाई सहजै स्वीकार गर्न सकेको बताईन । उनले भनिन्,‘हामी नेपालीहरु उदार छौं, हाम्रो मन विशाल छ, त्यसैले क्रिसमसमा रमाउँछौं, दशैं मनाउँछौं, आज अंग्रेजी नयाँ वर्ष हो, विश्वसँग नेपालीहरु जोडिएका छन् भन्ने सन्देश त हो । तर, हाम्रो नयाँ वर्षलाई कसले मान्छ र ? अरु कसैले त मान्दैन, तर अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सीले दशैंको अवसरमा शुभकामना दिएका थिए, त्यो सकारात्मक छ ।’