निर्माणधिन लिखु–३ र लिखु–४ हाइड्रोपावर अतिप्रभावित स्थानियबासी आन्दोलितः सरोकारबाला मौन

  • प्रकाशित मिति: बुधबार, पुष ११ २०७५
  • तामाकोशी

रामेछाप, पौष ११ गते ।
निर्माणधिन लिखु–३ र लिखु–४ हाइड्रोपावरले आफुहरुलाई अन्यायमा पारेको भन्दै अतिप्रभावित स्थानियबासीहरु आन्दोलित भएका छन् । विभिन्न माग राख्दै रामेछापको लिखु तामाकोसी गाँउपालिका वडा नं. २, ३, ४ र ५ तथा ओखलढुङ्गा लिखु गाउपालिका वडा नं. ८ र ९ का स्थानियबासीहरु आन्दोलित भएका हुन् । मंगलबार हाइड्रोपावर निर्माण स्थल सिरिसे बजारमा करिब ७ सय भन्दा बढि अति प्रभावित स्थानियहरुले विरोध सभाको आयोजना गरी हाइड्रोपावरका सञ्चालकहरुले गर्ने गरेका कामकारबाहि प्रति दुखेसो पोखेका छन् ।
स्वयत गंगा हाइड्रोपावर लिखु–३ पिडित संघर्ष समितिका अध्यक्ष केशर पौडेलले हाइड्रोपावरबाट स्थानियले पाउनु पर्ने र स्थानियले हाइड्रोपावरलाई दिनु पर्ने बारे छलफल गरौ भन्दा आफुहरुको कुराको सुनुवाईनै नगरेको बताए । आफुहरुको मागको बारेमा हाइड्रोपावरका केन्द्रिय कार्यालय देखि वडा कार्यालय, गाउपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, बन कार्यालय, प्रदेश हुदै केन्द्रिय सरकार सम्म जानकारी गराउदा पनि सम्बन्धित निकायहरु मौन बसेमा गुनासो गरे । उनले भने “हिजो जनताको मागलाई मध्यनजर गर्दै अगाडि बड्नेछु हाइड्रोपावरले जबरजस्ती काम गरिहेकोछ यसको किनारा लगाउनेछु भन्ने जनप्रतिनिधीहरु अहिले आएर मौन हुँदा दुख लाग्छ” ।
यस्तै स्थानिय प्रदिप राउतले हाइड्रोपावर सञ्चालन हुने बेलामा धेरै आशा गरेका स्थानियहरु अहिले निरासामा परिणत हुन बाध्य भएको दुखेसो पोखे । हाइड्रोपावरले स्थानियहरुलाई पेलेरै दमन गर्दै गयो भने स्थानियहरु संघर्षमा अघि बड्दै जाने उनले चेतावनी दिए । उनले भने “हाइड्रोपावरका सञ्चालकहरुले केहि ब्यक्तिहरुलाई पैसामा किन्न खोजिदैछन् तपाईहरु नविक्नु होला ! नत्र स्थानिय जनताहरुको आसुको श्राप लाग्नेछ” ।
हाइड्रोपावरले वातावरणिय प्रदुषण नियन्त्रणका लागि उचित जिम्मेवारी पुरा गर्नु पर्ने, हस्पिटल निर्माण गर्नु पर्ने, बोर्डिङ स्कुलको ब्यवस्था, आयोजनाको कारण सुख्खा भएको खानेपानीको उचित ब्यवस्था, अतिप्रभावितलार्ई रोजगारीको ब्यवस्था गर्नु पर्ने स्थानियहरुले माग गरेका छन् । यस्तै उनिहरुले अधिकत्तम शेयरको ब्यवस्था, जग्गाजमिनको चलनचल्तिको मुल्याङकनको आधारमा मुआब्जा, आयोजना वरिपरिको सडक ब्यवस्थित हुनु पर्ने, क्रसर उद्योग जनबस्तीदेखि कम्तीमा ५०० मिटर टाढा सञ्चालन हुनु पर्ने लगाएत २९ बुदे माग राखेका छन् ।
हाइड्रोपावर निर्माणले स्थानियवासी त्रासमा
निर्माणधिन लिखु–३ र लिखु–४ हाइड्रोपावरका कारण अतिप्रभावित स्थानिय बासी त्रासमा बसेका छन् । ठुलो–ठुलो आवाजमा बम व्लास्टीङ पड्किदा जनस्तरमा सन्त्रास फैलिएको छ भने भिरालो जमिन पहिरोको जोखिममा देखिएको स्थानियहरुले बताएका छन् ।
धुले बाटोमा दैनिक सैयौको संख्यामा सवारी साधन गुड्ने गरेकाले धुलो धुवाले वस्ती पुरै धुलाम्मे भएको उनीहरुले गुनासो गरेका छन् । लत्ता कपडा सुकाउने कुनै ठाउ छैन, खाना खाजा खादा झयाल ढोला बन्द गरेर खान बाध्य भएको स्थानिय प्रभुराम सुनुवारले दुखेसो पोखे । हाइड्रोपावरको कर्मचारीहरुलाई धुलो सडकमा दैनिक कम्तीमा एक पटक पानी हाल्न आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको उनले बताए ।
सिरिसे बजार संगै रहेको नमुना आधारभुत विद्यालय नजिकै हाइड्रोपावरले क्रसर सञ्चालन गरेका छन् भने दैनिकी पठनपाठनमा असर परेको विद्यार्थी साजन पौडेलले बताए । उनले भने “कक्षामा पढ्ने बेलामा क्रसरबाट निस्केको आवाजले समस्या हुन्छ” ।
लिखु–३ र लिखु–४ हाइड्रोपावरको काम सुचारु भए संगै अहिले सम्म टिफरको ठक्करबाट दुई जना स्थानियको ज्यान गइसकेका छन् भने एक जना अझै उपचारत्मक अबस्थामा छ । ओखलढुङ्गा र रामेछाप जिल्लाको सिमानामा निर्माणधिन लिखु–३ बाट २८ दशमलव ५ मेगावाट क्षमताको विद्युत उत्पादन हुने आयोजनाले अनुमान गरेको छ भने लिखु–४ बाट ५२ मेगावाट क्षमताको विद्युत उत्पादन हुने जनाएको छ ।