कसरी सम्भव भयो ? घर-घरमा पाइपबाट ग्यास जडान

  • प्रकाशित मिति: मंगलबार, भाद्र ५ २०७५
  • तामाकोसी खबर

विराटनगर, भदौ ५ गते ।

वि.स. २०४२ सालमा स्थापना भएको सामुदायिकस्तरको गौशालाबाट निस्किएको गोबरलाई कसरी सदुुपयोग गर्ने भन्ने समितिको छलफलपछि वैकल्पिक बायो ग्यास संचालनमा ल्याइएको हो ।



तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पाइपबाट घर–घरमा ग्यास पुर्‍याउने बताएपछि समितिले यस विषयमा गम्भीर चासो दिएर अहिले वैकल्पिक ऊर्जा उत्पादन गर्ने परियोजनाका रुपमा खेर गएको गोबर सदुपयोगमा ल्याएको हो ।

ग्यास उत्पादनका लागि गौशाला परिसरमा ३ सय घनमिटर प्लान्ट जडान गर्ने लगायतका प्राविधिक काम सकिएसँगै घर घरमा बायो ग्यास बल्न थालेको नेपाल उर्जा कम्पनीका प्राविधिक हरिशरण श्रेष्ठले बताउनुभयो ।

यस्तै घरमा बालिएको ग्यासको मिटर अनुसार के कति बील उठ्छ, त्यो सबैले देख्ने स्थानमा मिटरमा राखिएको छ । चुल्होमा जोड्नुपूर्व ग्यासको मिटरमा उल्लेख भएको नम्बरबाट त्यसबाट जोडेर कति खपत भएको छ, सोहीअनुसार बील गौ सेवा सदनलाई भुक्तान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

घर–घरमा पाइपबाट ग्यास पुर्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई कतिपयले हावाको रुपमा लिएको अवस्थामा यसरी विराटनगर महानगरपालिका वडा नम्बर १४ मा सुरु भएको यो अभियान पछि स्थानीयमा ‘गर्यो भने सहजै ग्यास उत्पादन हुनसक्ने रहेछ’ भन्ने प्रमाण यो बायो ग्यास प्लान्टबाट देखिएको छ ।

यसबाट स्थानीय पनि खुशी देखिएका छन् । पहिलो चरणमा ३२ घरमा पु्र्याइएको ग्यास त्यसपछि १ सय घर पुुर्‍याइएको हो । गौशालामा पालिएका २ सय ७ वटा गाईबाट दैनिक २ हजार किलोग्राम गोबर उत्पादन हुुने र सोही गोबरबाट बायो ग्यास उत्पादन भइरहेको छ ।

एलपी ग्यासको एक सिलिन्डरमा भएजति बायो ग्यास उपभोग गर्दा ११ सय रुपैयाँ उपभोक्ताले तिर्नुपर्ने समितिले जनाएको छ । तत्कालीन प्रधानमन्त्रीले हावादारी सपना बाँडेको भन्दै आलोचना गरिएको भए पनि सानो आकारमा पाइपबाट ग्यासको वितरण विराटनगरमा सफल आयोजनाका रूपमा देखिएको छ ।

#साभारः उज्यालो अनलाइन बाट