रामेछाप । वैशाख २५ गते,
रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जिल्लाको सुरक्षा व्यवस्था र बजार अनुगमनलाई कडाई गरिने बताएका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत सुधार गर्नुपर्ने काममा क्रमस सुधार गर्दै लाने उनको भनाई छ । रामेछापको प्रमुख जिल्ला अधिकारी भएर आएपछि पहिलो पटक जिल्लामा क्रियाशिल पत्रकारसंग भेटघाट गरि उनले यस्तो बताएका हुन् ।
उनले जिल्ला प्रशासन कार्यालय मार्फत प्रवाहा हुने सेवालाई थप प्रभावकारी बनाउदै लैजाने बताए । यसका लागि जिल्लाको ८ वटै स्थानीय तहका प्रमुख र सरोकारवाला निकायसंग समन्वय र छलफल गरि अगाडी बढ्ने भनाई छ ।
प्रशासनीक सेवालाई थप सेवाग्राहिमैत्री बनाउनका लागि जिल्लाबाट प्रवाहा हुने सेवाप्रदायक निकायहरुको सेवा सहित दुर्गम ठाउँमा घुम्ती शिविर संचालन गर्ने प्रमुख जिल्ला अधिकारी शर्माको योजना छ ।
उनले बजार अनुगमनसंग जोडिएका धेरै कुराहरु आएकाले सम्बन्धीत निकायसंग समन्वय गरि यसको संयन्त्र र बजार अनुगमनलाई कडा बनाउने बताए । कार्यक्रममा सहभागि पत्रकाहरुले जिल्लामा फितलो हुदै गएको सुरक्षा व्यवस्थामा कडाई गराउनुपर्ने , प्रेट्रोलियम पदार्थमा हुदै आएको कालोबजारीको अन्त्य गर्नुपर्ने सुझाव दिएका थिए ।
उनीहरुले यातायात व्यवसायीहरुले सरकारले तोके भन्दा बढि भाडा लिने गरेको भन्दै अनुगमन गरी कारवाही गर्न पनि माग गरेका थिए । पत्रकारहरुले रामेछापका बजार क्षेत्रहरुमा खाद्यान्न लगाएत अन्य सामाग्रीहरुको मुल्यमा एकरुपता नभएको भन्दै यसलाई नियमन गर्न जिल्ला प्रशासन लाग्नुपर्ने बताएका थिए । पत्रकारहरुको सुझावपछि प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले पत्रकार भेटघाटबाट आएको सुझाव महत्वपुर्ण रहेकाले यसलाई कार्यान्वयन गर्दै लाने बताए ।
रामेछापमा सुरक्षा व्यवस्था र बजार अनुगमन कडा हुन्छ: प्रजिअ शर्मा
- प्रकाशित मिति: मंगलबार, बैशाख २५ २०७५
- तामाकोसी खबर