रामेछाप । असोज ११ गते,
बडादशैंका नवरात्रिको सातौं दिन बुधबार देशभर घर(घरमा फूलपाती भित्र्याइँदै छ ।घटस्थापनादेखि नै नवरात्रि आरम्भ हुन्छ । तर, फूलपातिदेखि विजयादशमीसम्मलाई विशेष रुपमा मनाउने गरिन्छ । देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनका रुपमा महासप्तमी मनाउने गरिन्छ । आजको दिन कालरात्रि देवीको पूजा, आराधना गर्ने गरिन्छ ।
आश्विन शुक्लपक्षको सप्तमी तिथिलाई जनबोलीमा फूलपातीका रुपमा चिनिन्छ । आजकै दिन नवदूर्गा पूजास्थलमा केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, जयन्तीलगायत फूलपाती भित्र्याइने भएकाले सोही नाम जनबोलीमा रहेको हो ।
गोरखा दरवारस्थित कालिका मन्दिरबाट फूलपाती लिएर आएको गुरुजुको पल्टनले त्यसलाई हनुमानढोकास्थित दशैंघरमा भित्र्याउने साइत पारेर टुँडीखेलमा नेपाली सेनाले फूलपाती बढाईं गर्छ ।
उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरु लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहन्छ । आजै काठमाडौंका नेवार समुदायका घर(घरमा विश्वकर्मा तथा विद्याकी देवी महासरस्वतीको पूजा हुन्छ । त्यस क्रममा पुस्तक, कापी, कलम, ज्यावल, मेसिनरी सामग्रीहरु, कोदाला, हँसियालगायत स्थापना गरी पूजा गरिन्छ । किसानले खेतबाट धानका बाला घरमा भित्र्याएर पूजा गर्ने गर्छन् । यसैगरी रमेछापमा रहेको सबै देवीका मन्दिरहरुमा आज विशेस पुजा आजा भैरहेका छन् । त्यसैगरी जिल्लाका भिमशेनका मन्दिरहरुमा पनि पुजा भैरहेका छन् ।