सोमबार श्रीकृष्ण जन्माष्टमी, रामेछापका कृष्ण मन्दिरहरुमा दर्शनार्थीको घुईचो

  • प्रकाशित मिति: सोमबार, साउन ३० २०७४
  • तामाकोसी खबर

रामेछाप । साउन ३० गते,
भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व सोमबार भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । कृष्ण भगवानको पूजाअर्चनाका लागि सोमबार बिहानैदेखि रामेछाप जिल्लाको विभिन्न ठाउँमा रहेको कृष्ण मन्दिरहरुमा भक्तहरुको भीड लागेको छ । सदरमुकाम मन्थलीको मच्छेडाडामा रहेको कृष्ण मन्दिरमा बिहानैदेखी भक्तजनहरुको भीड लागेको छ । त्यसैगरी मन्थली नगरपालिका वडा नम्बर २ कठजोरमा रहेको आलेडाडा कृष्ण मन्दिर ,रामेछाप नगरपालिकाको भंगेरीमा रहेको कृष्णमन्दिरमा पनि भक्तजनहरुको भिड लागेको छ ।
त्यसैगरी मन्थली नगरपालिका वडा नम्बर ८ चिसापानीमा रहेको कृष्ण मन्दिर, मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँमा रहेको राधा कृष्ण मन्दिरमा पनि भक्तहरुको भीड लागेको छ । कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेकाले मध्यरात सम्म चिसापानीमा विविध सांस्कृतिक कार्यक्रम हुने स्थानीय गोपाल श्रेष्ठले जानकारी दिएका छन् । उनले चिसापानीमा रहेका नेवार समुदायले आफ्नो संस्कृति झल्कने प्रस्तुतीहरु दिने बताए । त्यसैगरी मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँमा रहेको राधाकृष्ण मन्दिरमा पनि सोमबार रातभर विबिध सांस्कृतिक कार्यक्रम रहेको स्थानीय सिता श्रेष्ठले जानकारी दिईन् । उनले भजन कृतन र स्थानीय संस्कृति झल्कीने सास्कृतिक कार्यक्रम रहेको बताईन् ।