रामेछाप । असार २३ गते,
मन्थली नगरपालिका चालु आर्थिक बर्ष २०७३ ÷७४मा संचालन गरेका विकास निर्माण योजनाका विषयमा बिहिवार सार्वजनिक सुनुवाई गरिएको छ । मन्थलीको हात्तिटारमा आयोजित सार्वजनिक सुनुवाईमा विकास निर्माणमा भएको प्रगति र सुधार गर्नुपर्ने विषयमा हाकाहाकी बहस गरिएको छ ।
स्थानीय सेवाग्राहीहरुले नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत र कार्यकारी अधिकृत पुरुषोतम सापकोटालाई प्रश्न गरेका थिए । उनीहरुले भूकम्प प्रतिरोधि घर बनाउन भैरहेको ढिलाई, खुर्कोट बेतिनी रामेछाप साघुटार सडकखण्ड कालोपत्रे गर्ने योजना परेपनि अहिलेसम्म कुनै काम नभएको प्रति गुनासो गरेका थिए । यस्तै नगर वडा भित्र पर्ने नदी, खोला किनारको ढुङ्गा बालुवा र गिटि कर कसले उठाउने भन्ने बारेमा जिज्ञासा राखेका थिए ।
जवाफमा नगर प्रमुख बस्नेतले नागरिकलाई अनुभुति हुने गरी आफूले कामगर्ने बताउदै नगरभित्रको सडक, विद्यालय , स्वास्थ्य केन्द्र सुविधा सम्पन्न बनाउने बताए । नागरिकहरुले गरेको प्रश्नले आफुलाई थप जिम्मेवार बनाएको भन्दै आगामि दिनमा विकास निर्माणमा कुनै कमजोरी हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।
त्यसैगरी नगरका कार्यकारी अधिकृत पुरुषोतम सापकोटाले भूकम्प प्रतिरोधि घर बनाउन प्राविधिकले दिने सुविधामा कमि नहुने बताए । इञ्जिनियरहरुलाई स्थलगत रुपमै परिचालन गरेको पनि उनले जानकारी दिए । मन्थली नगरपालिकाको आयोजनामा भएको सो सार्वजनिक सुनुवाईको सहजिकरण सान नेपालका अध्यक्ष उमंग मैनालीले गरेका थिए । सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष गोपाल माझी , पत्रकार महासंघका उपाध्यक्ष कैलाश खत्री , भलजोरका पूर्व गाविस अध्यक्ष कृष्ण बहादुर थापा लगाएतले बोलेका थिए ।
विकास निर्माण र योजनाका सवालमा मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाइ
- प्रकाशित मिति: शुक्रबार, असार २३ २०७४
- तामाकोसी खबर