राष्ट्रिय क्रिकेटको उपाधि दुई विभागीय टोलीले बाँडे

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ २५ २०७४
  • तामाकोसी खबर

काठमाडौं, जेठ २५ – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिस क्लबले बाँडेका छन् । बिहीबारको पानी परेर फाइनल खेल अवरुद्ध भएपछि प्रतियोगिताको उपाधि बाँडेका हुन् । दुबै टोलीले पुरस्कार स्वरुप १५–१५ लाख रुपैयाँ पाएका छन् ।

विजेताले पाउने २० लाख रुपैयाँ र उपविजेताले पाउने भनिएको १० लाख जोडेर दुई टोलीलाई पुरस्कार रकम भाग लगाइएको हो । त्रिवि क्रिकेट मैदानमा नेपाल पुलिस क्लबले दिएको १ सय २७ रनको लक्ष्य आर्मीले पछ्याइरहँदा पानी परेपछि खेल रोकिएको थियो ।



खेल रोकिँदासम्म आर्मीले २ ओभर ३ बलमा १ विकेट गुमाउँदै ७ रन बनाएको थियो । यसअघि टस हारेर व्याटिङ गरेको पुलिसले ४५ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । पुलिसका लागि सुनिल धमलाले ३२ तथा सिद्धान्त लोहनीले २० र दिपेन्दै सिंह ऐरीले १९ रन बनाए ।

प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी पश्चिमाञ्चलका बिपिन खत्री चुनिए । प्रतियोगिताभर ४ इनिङमा २७० रजन बनाएका पश्चिमाञ्चलकै सौरध खनाल उत्कृष्ट ब्याट्सम्यान चुनिए । त्यस्तै आर्मीका सुशान भारी उत्कृष्ट बलर बने । उनले प्रतियोगिताको ५ इनिङमा सर्बाधिक १४ विकेट लिएका थिए । दुवैले जनही ५० हजार पुरस्कार पाए ।

अलराउण्ड प्रदर्शन गरेका आर्मीका सागर पुन प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने । उनले ब्याटिङतर्फ १२६ रन र बलिङतर्फ सर्बाधिक १४ विकेट लिएका थिए । उत्कृष्ट खेलाडी सागरले पुरस्कारबापत पाएको १ लाखको २५ प्रतिशत रकम बृद्धाश्रमलाई प्रदान गर्ने घोषणासमेत गरेका छन् ।

गत जेठ ९ गतेबाट सुरु भएको सर्बाधिक पुरस्कार राशीको राष्ट्रिय प्रतियोगितामा साविकका पाँच बिकाश क्षेत्र र तीन बिभागीय टोलीको सहभागिता थियो । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको हो ।