केन्यासँगको खेलका लागि नेपाली टोली घोषणा

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २३ २०७३
  • तामाकोसी खबर

काठमाडौं, फागुन २३ – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपमा केन्यासँग खेल्ने नेपाली टोली घोषणा भएको छ ।  यही फागुन २८ र ३० गते कीर्तिपुरको त्रिवि मैदानमा हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलका लागि पारस खड्काको कप्तानीमा चार वैकल्पिकसहित १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो । आइसिसीको एसिया क्षेत्रका लागि क्रिकेट विकास कमिटिका अधिकारी वेन्कटपति राजु, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनौट समितिले खेलाडी छनौट गरेको क्रिकेट नेपालका टेकनिकल एनालिस्ट रमन शिवाकोटीले जानकारी दिनुभयो ।



टिमको उपकप्तानमा ज्ञानेन्द्र मल्ल रहेका छन् । यस्तै शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, बिनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, महबुब आलम, आरिफ शेख, सुनिल धमला, दिपेन्द्र सिंह ऐरीले  निरन्तरता पाएका छन् । यसैगरी चार जना बैकल्पिक खेलाडी घोषणा गरिएको छ । वैकल्पिक खेलाडीहरुमा राजेश पुलामी मगर, अविनाश कर्ण, भुवन कार्की, दिलिप नाथ रहेका छन् ।