रामेछाप । २७,माघ ,
रामेछाप जिल्लाको सदरमुकाम मन्थली नगरपालीका र नागदह गाविसको सिमानामा रहेको ऐरनवास भगवतीको उचित संरक्षण
हुन नसकेको स्थानीयको गुनासो रहेको छ । जिल्ला सदरमुकाम मन्थलीबाट एक घण्टाको दुरीमा रहेको ऐरनवास मन्दिरमा सदरमुकाम मन्थलीबाट समेत दर्शन गर्न र घुम्नको लागि मानिहरु पुग्ने गरेका भए पनि मन्दिर निर्माण तथा संरक्षणको लागि कसैको पनि ध्यान दिएका छैनन् । ऐरनवास देवीको मन्दिर धार्मीक तथा पर्यटकिय हिसावले पनि महत्वपूर्ण रहेको छ । सोही बाटो भएर हिँडेका एकजोडी बेहुलाबेहुलीलाई वाघले खाएपछि उनी देवीको रुपमा प्रकट भएको स्थानीयको जनविश्वास रहेको छ ।
मन्दिरमा पूजाआज तथा बलि चढाउन सर्वसाधारणमात्र हैन सरकारी निकायका मानिसहरु समेत पुग्दछन् । साक्षात देवी भएको र मागेको कुरा पुग्ने विश्वासका साथ सो स्थानमा पूजा गर्न स्थानीयहरु पुग्ने गर्दछन् । देवीको मन्दिरमा पूजा गर्न उच्च वहदाका मानिसहरु पनि पुग्छन् । जंगल क्षेत्र र चिसो हावापानी भएको तथा सदरमुकाम मन्थलीबाट नजिक भएकोले गर्मिको समयमा घुमघाम र पिकनिकको लागि पनि सो स्थानमा मानिसहर पुग्दछन् । तर अहिलेसम्म देवीथानमा मन्दिरसमेत निर्माण हुननसक्नु दुःखद भएको मन्दिरका पुजारी इमबहादुर बुढाथोकी बताउँछन् । मन्दिरलाई व्यवस्थित गरि पिकनिक स्पोर्ट निर्माण गर्न सके सो क्षेत्र रामेछापको धार्मीक पर्यटनको आकर्षणको केन्द्र बनाउन सकिने सम्भावना छ । यस तर्फ सम्बन्धित गाविस, मन्थली नगरपालीका, जिल्ला विकास समिति र पर्यटन तथा संस्कृति मन्त्रालयको समेत ध्यान जानु आवश्यक देखिन्छ ।