रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कलाकार प्रकाश कटुवालले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
कांग्रेस रामेछाप क्षेत्र नं. १ को अधिवेशनबाट खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित कटुवालले ४८० मत प्राप्त गरेका थिए। महाधिवेशन प्रतिनिधि निर्वाचित भएसँगै उनले पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।
राष्ट्रिय सङ्गीतकर्मी संघका केन्द्रीय अध्यक्षसमेत रहेका कटुवाल नेपाली लोक तथा दोहोरी सङ्गीत क्षेत्रमा परिचित नाम हुन्। उनका ‘सिरानी टाङमुनी’, ‘यो रक्सीको गन्ध’, ‘चोर बिरालो पल्को’ लगायतका गीत लोकप्रिय छन्।
उमाकुण्ड गाउँपालिका–३ बाट क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएपछि कटुवालको राजनीतिक सक्रियता थप बढेको हो। सांगीतिक क्षेत्रसँगै सामाजिक तथा राजनीतिक गतिविधिमा समेत सक्रिय रहँदै आएका कटुवालले कलाकार तथा सर्जकको आवाजलाई पार्टीको नीति निर्माण तहसम्म पुर्याउने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएका छन्।