रामेछाप- नेकपा (एमाले) जिल्ला कमिटी रामेछापले प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउने निर्णय गरेको छ। जिल्ला कमिटीको आठौं पूर्ण बैठकले संगठन विस्तार, सदस्यता व्यवस्थापन र जनसम्पर्कलाई प्रभावकारी बनाउने विषयमा विभिन्न निर्णय गरेको हो।
जिल्ला अध्यक्ष पुर्षोतम कडरियाको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज माधवप्रसाद ढुङ्गेल प्रमुख अतिथि रहनुभएको थियो। बैठकमा केन्द्रीय सदस्य गीता कार्की, बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेल र प्रदेश उपसचिव रमेश आचार्यलगायत नेताहरूको सहभागिता थियो।
बैठकले गत प्रतिनिधिसभा निर्वाचनमा रामेछापमा पार्टीले अपेक्षित नतिजा हासिल गर्न नसक्नुका कारणबारे समीक्षा गर्दै आगामी दिनमा संगठनलाई अझ बलियो बनाउने निर्णय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी, एमालेले मदन–आश्रित स्मृति भवनको उद्घाटन तथा ‘मिसन पार्टी जागरण अभियान–२०८३’ को शुभारम्भ साउन २२ गते शुक्रबार बिहान ११ बजे मन्थली–१ आकाशेमा गर्ने भएको छ। कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ।
बैठकले सदस्यता नवीकरणलाई व्यवस्थित गर्ने, अभियानलाई जिल्ला, पालिका, वडा र टोल तहसम्म विस्तार गर्ने तथा पार्टी कार्यालय निर्माणको आय–व्यय विवरण पनि प्रस्तुत गरेको जनाएको छ।