सगरमाथा चढेका धानुकुमारलाई रामेछाप गौरव, बधाई दिन उर्लिए जिल्लावासी

  • प्रकाशित मिति: शनिबार, जेष्ठ २३ २०८३
  • तामाकोशी

रामेछाप । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर फर्किएका मन्थली नगरपालिका–१ का २५ वर्षीय धानुकुमार श्रेष्ठलाई शनिबार गृहजिल्लामा भव्य स्वागत गरिएको छ। सगरमाथाको चुचुरोमा पुगेका युवा आरोहीलाई सम्मान गर्न सदरमुकाम मन्थलीमा सयौं स्थानीय भेला भए।

नेवा खल र नेवा देया दबूले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सहभागीहरूले श्रेष्ठलाई दोसल्ला ओढाएर र प्रशंसापत्र प्रदान गर्दै सम्मान गरे। कार्यक्रममा उपस्थितहरूको उत्साहले उनको उपलब्धि केवल व्यक्तिगत सफलता नभई सिंगो रामेछापको गौरव बनेको सन्देश दिएको थियो। पर्यटन विषयमा स्नातक गरेका श्रेष्ठले २०८३ जेठ ७ गते दिउँसो १ बजे सगरमाथाको चुचुरोमा पाइला राखेका थिए। बेलायती आरोहण टोलीसँग चैत २६ गते अभियानमा निस्किएका उनी दोस्रो प्रयासमा सफल भएका हुन्।



गत वर्ष उनी सगरमाथा आरोहणको लक्ष्यसहित अघि बढे पनि प्रतिकूल मौसम र चुनौतीपूर्ण अवस्थाका कारण तेस्रो शिविर (क्याम्प–३) बाट फर्किन बाध्य भएका थिए। तर असफलतालाई अन्तिम निष्कर्ष नठानी पुनः तयारीमा जुटेका श्रेष्ठले यस वर्ष आफ्नो लक्ष्य पूरा गरे।

सानैदेखि हिमाल र पर्यटनप्रति आकर्षित श्रेष्ठको यात्रा भने सगरमाथाबाट सुरु भएको होइन। उनले लुबुचे हिमाल तीन पटक सफलतापूर्वक आरोहण गरिसकेका छन्। सन् २०२४ यता प्रत्येक वर्ष लुबुचे चढ्दै आएका उनले गत वर्ष युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रससमेत आरोहण गरेका थिए।

सम्मान कार्यक्रममा उनका पिता टंककुमार श्रेष्ठ भावुक देखिन्थे। “मेरो चाहना छोरालाई इन्जिनियर बनाउने थियो,” उनले भने, “तर आज उसले त्योभन्दा ठूलो काम गरेको छ। ऊ अब मेरो मात्र छोरा रहेन, सबैको छोरा बनेको छ।” आफ्नो जीवनको प्रसंग जोड्दै उनले थपे, “म २६ वर्षको उमेरमा विवाह गरेको थिएँ। आज छोरा २५ वर्षको उमेरमै विश्वको सर्वोच्च शिखर चढ्दा गर्व र खुसीको सीमा रहेन।”

कार्यक्रममा बोल्दै धानुकुमारले आफूलाई शुभकामना र सम्मान गर्ने सबैप्रति आभार व्यक्त गरे। उनका अनुसार सगरमाथा चढ्नु मात्र चुनौतीपूर्ण होइन, त्यो अभियानका लागि आवश्यक वातावरण, स्रोत र अवसर जुटाउनु झन् कठिन काम हो। “शिखरमा पुग्ने सपना धेरैले देख्छन्, तर त्यो सपनालाई यात्रामा बदल्न धेरै संघर्ष गर्नुपर्छ,” उनले भने, “धेरै चुनौती पार गर्दै अन्ततः लक्ष्य पूरा गर्न सफल भएँ।”

 

उनले आफ्नो पर्यटन यात्रा २०७४ सालबाट सुरु भएको स्मरण गरे। त्यसबेला आफूले कुनै दिन सगरमाथा चढ्ने कल्पनासमेत नगरेको बताए। ट्रेकिङ गाइडका रूपमा सुरु भएको यात्राले विस्तारै हिमालको संसारमा तानेको उनले बताए । “सुरुमा मेरो काम विदेशी पर्यटकलाई पदमार्गमा सहजीकरण गर्ने थियो,” उनले भने, “पछि हिमालमा फोटो र भिडियो खिच्ने, डकुमेन्ट्री तथा फिल्म निर्माण गर्ने काममा सक्रिय भएँ। त्यही क्रममा हिमालसँगको सम्बन्ध अझ गहिरो बन्दै गयो।”