रामेछाप, रामेछाप जिल्लामा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा करिब ४८ प्रतिशत मतदान भएको छ। जिल्लाभरबाट कुल ९० हजार ७ सय १० मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ।
बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म जिल्लाका ९६ वटै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको थियो। कार्यालयका अनुसार मतदानमा ४० हजार ८६ महिला र ५० हजार ६ सय २४ पुरुष मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्।
रामेछापमा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको छ। उक्त क्षेत्रमा ३ जना स्वतन्त्र उम्मेदवारसहित १४ राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ।
जिल्लामा कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता रहेका छन्। तीमध्ये ९१ हजार ६० महिला र ९६ हजार ८ सय ९२ पुरुष मतदाता रहेका निर्वाचन कार्यालयले जनाएको छ।
मतदान सम्पन्न भएसँगै जिल्लाका अधिकांश मतदान स्थलबाट मतपेटिका जिल्ला सदरमुकाम मन्थलीस्थित मतगणना स्थलतर्फ ल्याउने कार्य जारी रहेको छ। निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको जनाइएको छ।