रामेछाको भुजीमा २७ औँ भुजी लिग फुटबल प्रतियोगिता सुरु

  • प्रकाशित मिति: शनिबार, असोज २५ २०८२
  • तामाकोशी

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीमा २७ औँ भुजी लिग फुटबल प्रतियोगिता–२०८२ शुक्रवारदेखि सुरु भएको छ । अमृत घाम छाया खेल मैदानमा सुरु भएको प्रतियोगितामा नौ टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा बाम्ती भण्डार र लिखु भुजी रामेछापबिच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा खेल बराबरीमा रोकिएको आयोजकले जनाएको छ ।



असोज २९ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले एक लाख २७ हजार ७२७ रुपैयाँ नगदसहित स्वर्ण पदक र रनिङ शिल्ड प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ६७ हजार ७२७ रुपैयाँसहित रजत पदक पाउनेछन् ।

सेमिफाइनलदेखि फाइनलसम्मका खेलमा म्यान अफ द म्याच खेलाडी छनोट गरी आकर्षक पुरस्कार प्रदान गरिने भुजी फुटबल क्लबले जानकारी दिएको छ ।

भुजी फुटबल क्लबका अध्यक्ष शुभ राज सुनुवारको अध्यक्षतामा भएको विशेष समारोहबिच उमाकुण्ड गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले प्रतियोगिताको उद्घाटन गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता अर्याल, वडा अध्यक्षहरू, खेलकुद विकास संयोजक सुदीप सुनुवार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, खेलाडी र स्थानीयको उपस्थिति थियो ।