काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले राजीनामा दिएको घोषणा गरेका हुन्।
संवैधानिक रूपमा अझै मुख्यमन्त्री रहने अवस्था रहे पनि पार्टीभित्रको छलफल, राजनीतिक विधि, पद्धति र मान्यता स्थापित गर्नुपर्ने आवश्यकता र पार्टी सभापति शेरबहादुर देउवाको आग्रहअनुसार आफूले राजीनामा दिएको लामाको भनाइ थियो।
लामाले पदभार सम्हालेको ३७४ दिनको अवधिमा सम्पन्न कामको संक्षिप्त विवरण पनि सार्वजनिक गरेका थिए। उनले २०८१ साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएर साउन ९ गते पद तथा गोपनीयताको शपथ लिएका थिए। केही दिनअघि कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो।
त्यसपछि संसदीय दलको नेताबाट हटाइएसँगै मुख्यमन्त्रीबाट पनि राजीनामा दिनुपर्ने दबाब बढेको थियो। अब कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।