रामेछाप । वैशाख ३१ गते,नवराज पथिक,
एकसमयको सरसफाइको नमूना सहर बनेको मन्थली बजार अहिले धुलै धुलोको सहर भएको छ । मन्थली बजारको धुलो अहिले सबैको लागि टाउको दुखाइ बनेको छ । हरेक विहान घर अगाडिको सडक सामुहिक रुपमा सफा गर्ने मन्थली बजारवासीहरु अहिले धुलोले गर्दा घरबाट बाहिर निस्कनसमेत नसक्ने भएका छन् । बजार क्षेत्रमा उड्ने धुलोले घरहरु पुरै धुलाम्य भएका छन् भने सर्वसाधारणहरु सडकमा निस्कनै नसक्ने अवस्था आएको छ । मन्थली बजारमा अहिलेको धुलोको मुख्य कारण सडकनै हो । मन्थली बजार प्रवेश गर्ने रणजोर खोलादेखि मन्थली बजारको तामाकोसी सेवा समिति अगाडिसम्मको सडकमा नाला निर्माण गर्ने भन्दै सडक भत्काएर छाडेपछि धुलो उडेको हो ।
सो सडकमा नाला बनाउन भन्दै सडक डिभिजन कार्यालयले गएको वर्षको आसार महिनामा नै बाटो भत्काएको थिए । सडक भत्काएर छाडेको डिभिजनले एकवर्षसम्म केही काम गरेन । वर्षाको हिलो सो सडक भएर मन्थली भित्रने सवारी साधनहरुले ल्याउदा बजार क्षेत्र हिलाम्य भयो । बजार क्षेत्रमा हिलो आउन लागेपछि दैनिक सडक वढार्ने स्थानीयले सडक बढार्न छाडिदिए । ‘बिहानभरी सडक बढार्यो पानी हाल्यो, ट्याक्टर र अन्यगाडी आएर हिलो पारेर छाडिदिन लागेपछि सडक सफा गर्न छाडिदिएको बजारवासी एवं नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुँगेलले बताए ।
काम छाडेको एक वर्षपछि अहिले फेरी सडक डिभिजन कार्यालयले मदनभण्डारी चोकदेखि रणजोर खोलासम्म नाला बनाउने भनेर सडक भत्काइ सडकमा माटो थुपारेको छ । सडकमा थुपारेको माटो हुँदै सवारीसाधनहरु गुड्दा सडकमा हिँड्नै नसक्ने अवस्था आएको छ । सडकमा हिँड्न मात्र हैन सडक किनार र आसपासका क्षेत्रका घरमा समेत बस्नै नसकिने अवस्था आएको स्थानीय व्यवसायीहरुको गुनासो रहेको छ । 
मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत भने स्थानीय बासीहरुको असहयोगको कारण पनि यो समस्या आएको बताउँछन् । निर्माणको काम गर्दा केही समय समस्या हुने भए पनि नागरिकले सडकको काम छिटो गर्न असहयोग गरेकाले समस्या थपिएको उनको भनाइ छ । स्थानीयले सडक बनाउन खोज्दा समयमा विद्युतको पोल सार्न तथा सडकको जग्गा समेत छुन नदिँदा काममा ढिलाई भएको उनले बताए ।
वर्षाभरी हिलो र हिँउदलागेसँग धुलो उडेर सडकमा हिँड्न मात्र हैन घरका कोठाभित्र समेत धुलो छिरेर बस्न नसक्ने भएपछि सर्वसाधारणको स्थानीय सरकार र सडक डिभिजन कार्यालय प्रतिको आक्रोस बढ्दै गएको छ । सर्वसाधारणले सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा समेत धुलो व्यवस्थापन गर्न नसकेको भन्दै आक्रोश पोख्ने गरेका छन् । स्थानीयले विरोध र्याली तथा नगरपालिकामा ग्यापनपत्र बुझाउने लगायतका काम गरि रहेका छन् । तर पनि धुलो नियन्त्रणका लागि कुनै काम हुन सकेको छैन ।
एक समयको सरसफाइको नमूना रामेछापको मन्थली अहिले धुलै धुलोको सहर
- प्रकाशित मिति: मंगलबार, बैशाख ३१ २०७६
- तामाकोशी