वीपी राजमार्ग दुई लेनको बनाउने सडक बिभागको तयारी

  • प्रकाशित मिति: शुक्रबार, बैशाख २० २०७६
  • तामाकोशी

काठमाडौं । वैशाख २० गते,
सडक विभागले वीपी राजमार्ग अन्तर्गतको धुलिखेल–खुर्कोट सडकलाई दुई लेनमा विस्तार गर्ने भएको छ । आर्थिक वर्ष २०७६÷७७ को बजेटबाट सडक विस्तारका लागि रकम व्यवस्था गर्न विभागले सरकारसँग माग गरेका छ । ओखलढुंगा, खोटाङ, दोलखा, रामेछाप लगायतका जिल्लाका सवारीको निकै चाप हुने गरेको छ । यसैलाई मध्यनजर गरी सुरुमा पहिलो चरणमा धुलिखेल–खुर्कोट सडक विस्तार गर्न योजना अगाडि सारेको हो । हाल सरकारले ३२ सिटसम्मको यात्रुबाहक र १० टनसम्मको मालबाहक सवारी मात्रै चलाउन सकिने गरी अनुमति दिएको छ । वीपी राजमार्गबाट हाले पूर्वबाट आउने र पूर्वी पहाडी जिल्लामा जाने साना सवारीको अत्याधिक रुपमा चाप छ । वीपी राजमार्गको पुनर्निर्माणका लागि जापानले १ अर्ब ८ करोड रुपैयाँ अनुदान सहयोग गर्ने सम्झौता भइसकेको छ । वीपी राजमार्गमा आसपास क्षेत्रमा सञ्चालन भइरहेका क्रसरबाट उत्पादन निर्माण सामाग्री निर्यात हुँदा सडकको अवस्था निकै जिर्ण बनेको छ । दुई लेनको सडक निर्माण हुँदा रामेछापवासीलाई निकै फाइदा पुग्नेछ । अहिले वीरगन्जबाट ल्याउने सामाग्री सिन्धुलीमा पोल्टी गरेर सदरमुकाम मन्थली लगिने गरिएको छ भने काठमाडौंबाट वीपी राजमार्ग हुँदै मन्थली छोटो दुरी भएपनि धुलिखेल, दोललघाट दोलखा हुँदै सदरमुकाम मन्थली जाने गरेको छ ।