रामेछाप । वैशाख १७ गते,शान्ता श्रेष्ठ,
केहिदिन अघि परेको भारी वर्षाले रामेछाप सदरमुकाम मन्थली आसपासको सडकमा थुप्रिएको हिलो धुलोमा परिणनत भएपछि मन्थली बजार पुरै धुलोले ढाकेको छ । खोला र खोल्साबाट आएको लेदो पन्छाएर तत्कालका लागि सडक खुलाइए पनि अहिले त्यही हिलोका कारण मन्थली बजार धुलाम्मे बन्दा जनजीवन प्रभावित भएको छ । हिलो सडक हुँदै बजारतिर आउने सवारी साधनका पाङ्ग्राले बजारमा ल्याएको हिलो सुकेपछि त्यही हिलो माडिएर मन्थली बजार धुलाम्मे बनेको हो । धुलोको कारण मन्थली बजारमा हिँड्ने पैदल यात्रु लगाएत मोटरसाइकलमा सवार गर्नेहरु एकैछिनमा धुस्रैफुस्रै हुने गरेको स्थानीय खड्क बहादुर आले मगरले बताए ।
व्यवसायहीहरुलाई पनि किराना ,खाद्यान्न लगायतका सामाग्री धुलोबाट बचाउन हम्मे परेको छ । किरानाका सामान, कपडा पसल , होटेल जताततै धूलोले छोपिएका छन् । अस्पताल, विद्यालय र विभिन्न कार्यालयमा पनि धूलोको असर परेको छ । धुलोकै कारण बजारमा पैदलयात्रुले यातायातका साधन आएको र गएको समेत नदेख्ने अवस्था छ । बजारका सबै व्यवसायीले प्राय घर अघिल्तिरको सडकमा बढार्ने र पानी हाल्ने काम गर्दै आएका छन् । दिनहुँ पानी हाल्दा पनि धूलो नियन्त्रण भएको छैन । धेरै जसो ट्रयाक्टरको टायरमा अड्केर आउने हिलो बजारमा छोडिने भएकाले धूलो नियन्त्रण गर्न कठिनाइ भएको बजारबासीहरुको गुनासो छ । मन्थली बजार आसपासका ठाडो खोल्साहरूको निकास नहँुदा समस्या निम्तीएको मन्थली बजारवासीको भनाई छ । 
मन्थली बजारमा ठुलो पानी र्पयो कि भेल सडकमा दौडिन्छ । भेलले ल्याएको हिलो माडिँदै धूलो हुने क्रम केही वर्ष अघिदेखि निरन्तर छ । मुख्य बजारमा धुलो उड्दा सर्वसाधारणलेको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको तामाकोसी सहकारी अस्पतालका चिकित्सक डा. सुमनकुमार कर्माचार्यले बताए । धूलोका कारण रुघा खोकी र स्वासप्रश्वासमा समस्या हुने उनले बताए । सडकमा नियन्त्रित गतिमा सवारी साधन नगुड्दा धूलो उड्ने क्रम अरू थपिँदो छ । धूलो उडाउने सवारी तीव्र गतिमा कुद्दा नियन्त्रण गर्ने ट्राफिक मुख छोपेर बस्न बाध्य छन् । बजारमा गतिसिमितको बोर्ड राखेपछि कार्यान्वयन पक्ष फितलो छ । धूलोले एक सवारी साधनदेखि अर्कोको दूरी देखिन छाडेकोले दुर्घटनाको सम्भावना समेत बढेको छ।
अत्याधिक धुलोका कारण रामेछाप सदरमुकाम मन्थलीको जनजीवन प्रभावित
- प्रकाशित मिति: मंगलबार, बैशाख १७ २०७६
- तामाकोशी