रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा विश्वप्रसिद्ध कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरी क्षयरोग (टिबी) परीक्षण गरिएको छ। “क्षयरोगमुक्त नेपाल अभियान” अन्तर्गत सञ्चालन गरिएको विशेष स्वास्थ्य शिविरमार्फत २२७ जनाको स्वास्थ्य परीक्षण गर्दा १ जनामा क्षयरोग पुष्टि भएको छ भने केही शंकास्पद बिरामीलाई थप उपचारका लागि रिफर गरिएको छ।
गाउँपालिका स्वास्थ्य शाखाका अनुसार बुधबार उमाकुण्ड गाउँपालिका–४ स्थित प्रीति अस्पतालमा आयोजित शिविरमा ९३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। तीमध्ये १ जनामा क्षयरोग पुष्टि भएको हो। त्यसैगरी बिहीबार वडा नं. २ स्थित बाम्ती स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा १३४ जनाको स्वास्थ्य परीक्षण गर्दा २ जना शंकास्पद बिरामी फेला परेका छन्, जसलाई थप जाँच तथा उपचारका लागि रिफर गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा दुई दिनसम्म सञ्चालन गरिएको एआई–आधारित डिजिटल एक्स–रे परीक्षणमार्फत सम्भावित संक्रमितहरूको छिटो पहिचान गर्न सफल भएको जनाइएको छ। पुष्टि भएका बिरामीको उपचार प्रक्रिया सुरु गरिएको गाउँपालिकाले जानकारी दिएको छ।
उमाकुण्डमा एआई प्रविधिबाट टिबी परीक्षण
- प्रकाशित मिति: बिहिबार, जेष्ठ २१ २०८३
- तामाकोशी