मन्थली । रामेछापमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेल प्रतिभा खोज्ने माध्यमभन्दा बढी विवाद र असन्तुष्टिको विषय बन्दै गएको छ ।
ग्रासरुट तहबाट खेलाडी उत्पादन गर्दै पालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्य बोकेको प्रतियोगितामै उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले अवसर नपाएपछि जिल्लाको खेलकुद क्षेत्र फेरि तरंगित बनेको हो ।
गत वैशाखमा खाँडादेवी गाउँपालिकामा सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरेको दोरम्बा गाउँपालिका महिला भलिबल टोलीबाट प्रदेशस्तरीय छनोटमा एक जना खेलाडीसमेत नपरेपछि खेलाडी र अभिभावकले छनोट प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन् ।
दोरम्बा टोलीकी कप्तान मनिषा मगरले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नै योजनाबद्ध रूपमा बेवास्ता गरिएको आरोप लगाएकी छन् ।
उनले आफूहरूसँग रहेका एसएमएस र स्क्रिनसटहरूले धेरै कुरा स्पष्ट पार्ने दाबी गर्दै जिम्मेवार पदमा बसेकाहरूले खेलाडीलाई आशा देखाएर अन्तिम समयमा बेवास्ता गरेको बताइन् ।
“यदि यस्तै पक्षपात, सेटिङ र व्यक्तिगत सोचकै आधारमा खेलाडी छनोट गर्ने हो भने अर्को पटक दोरम्बामा प्रतियोगिता गर्नुको अर्थ रहँदैन,” उनले भनिन् ।
राष्ट्रपति रनिङ शिल्डमा विवाद यसअघि पनि दोहोरिँदै आएको खेलकर्मीहरू बताउँछन् । यही असन्तुष्टिका कारण यस वर्ष रामेछापका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहले मौन विरोधस्वरूप खेलाडी नै सहभागी नगराएको स्रोतको दाबी छ ।
खेलाडी पक्षले मेहनत, प्रदर्शन र क्षमताभन्दा पहुँच र समूहगत प्रभावका आधारमा छनोट गरिएको आरोप लगाइरहेका बेला जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष सिताराम कार्की ले भने छनोटको जिम्मेवारी सम्बन्धित खेल संघलाई दिइएको बताएका छन् ।
“महिला भलिबलतर्फ फर्जी खेलाडी खेलाइएको भन्ने जानकारीसमेत आएको कारण विवाद सिर्जना भएको हुनसक्छ” उनले भने ।