रामेछाप । ठुलो घनराशिको पुरस्कारसहित लिखु तामाकोशी गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। लिखु तामाकोशी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता वैशाख २४ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने जनाइएको छ।
प्रतियोगिता श्री झुटेश्वर मावि खेलमैदान, धोबी बजार रामेछापमा हुनेछ। उद्घाटन कार्यक्रम वैशाख २४ गते बिहान १० बजे हुने तथा खेल बिहान ११ बजेदेखि सुरु गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टिमले रु. २ लाख ५० हजार, द्वितीयले रु. १ लाख ५० हजार र तृतीयले रु. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै सान्त्वना पुरस्कार, सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र लिबेरोलाई समेत नगदसहित सम्मान गरिनेछ।
टिम दर्ता वैशाख १५ गतेदेखि २२ गते बेलुका ५ बजेसम्म खुला रहनेछ भने प्रति टिम दर्ता शुल्क रु. १० हजार तोकिएको छ। प्रतियोगिता लिग तथा नकआउट प्रणालीमा सञ्चालन हुने आयोजकले जनाएको छ।
लिखुतामाकोशी गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष शुसियल तामाङका अनुसार गाउँपालिकामा खेलकुद गतिविधिलाई थप सक्रिय बनाउने, प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्ने तथा युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। उनले प्रतियोगितालाई भव्य र सभ्य बनाउन सम्पूर्ण खेलप्रेमी, दर्शक तथा टोलीहरूलाई सहभागिताका लागि आग्रह गरेका छन्।