१३औँ राष्ट्रपति रनिङ शिल्ड बैशाख ९ देखि; तीन स्थानीय तहका खेलाडी सहभागी नहुने

  • प्रकाशित मिति: मंगलबार, बैशाख ८ २०८३
  • तामाकोशी

रामेछाप । रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजनामा तथा खाडादेवी गाउँपालिकाको व्यवस्थापनमा १३औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ। प्रतियोगिताबारे जानकारी दिन मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।
समितिका अध्यक्ष सिताराम कार्कीका अनुसार प्रतियोगिता बैशाख ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका खेलाडीहरूको सहभागिता रहने भए पनि रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका र गोकुलगङ्गा गाउँपालिकाका खेलाडी सहभागी नहुने जनाइएको छ।
कक्षा १२ को परीक्षासँग समय जुधेकाले ती स्थानीय तहका खेलाडीहरू सहभागी हुन नसक्ने जानकारी आयोजकलाई प्राप्त भएको अध्यक्ष कार्कीले बताउनुभयो।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी लगायतका विधामा प्रतिस्पर्धा हुने जनाइएको छ। विजेता खेलाडी तथा टोलीलाई ट्रफी, शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिनेछ।
विद्यालय तहबाट खेल प्रतिभाको पहिचान तथा विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।