पराजयपछि एमाले रामेछापमा आत्मसमिक्षाः नेतृत्व फेरबदलसम्मको माग

  • प्रकाशित मिति: शुक्रबार, चैत्र २७ २०८२
  • तामाकोशी

रामेछाप । फागुन २१ गते सम्पन्न निर्वाचनपछि नेकपा एमाले रामेछापले पहिलो पटक अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ। सदरमुकाम मन्थलीमा शुक्रवार आयोजित भेलामा नेता तथा कार्यकर्ताहरूले खुलेर असन्तुष्टि पोखेका छन्।

भेलाको सुरुवातमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज माधवप्रसाद ढुङ्गेलले आफ्नो धारणा राख्दै निर्वाचनमा पराजयका कारण र पार्टीको आगामी दिशा बारे विश्लेषण प्रस्तुत गरेका थिए। प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेर पराजित भएका ढुङ्गेलले पराजयबाट पाठ सिक्दै पार्टी सुधारको आवश्यकता औँल्याए।



त्यसपछि सहभागी नेता तथा कार्यकर्ताहरूले क्रमशः आफ्नो भनाइ राखेका थिए। अधिकांश वक्ताहरूले निर्वाचनमा पराजय हुनु मात्र नभई जनताको नजरमा पार्टीको छवि कमजोर बन्दै गएको स्वीकार गरेका छन्।

भेलामा उठेका धारणा अनुसार वर्तमान नेतृत्वप्रति गम्भीर असन्तुष्टि देखिएको छ। धेरैजसो नेताहरूले “नेतृत्व नसच्चिएसम्म पार्टी सुध्रिन नसक्ने” भन्दै केन्द्रीय कमिटीदेखि तल्लो तहसम्मका संरचना विघटन गरी नयाँ ढंगबाट पुनर्गठन गर्नुपर्ने माग गरेका छन्।
त्यस्तै, पार्टीका सबै जनवर्गीय संगठनहरू पनि विघटन गरेर पुनर्गठन गर्नुपर्ने आवाज उठाइएको छ। केही नेताहरूले त निर्वाचनको गम्भीर समीक्षा गर्दै नैतिकताका आधारमा वर्तमान नेतृत्वले जिम्मेवारी त्याग्नुपर्ने धारणा राखेका छन्।

भेलामा बोल्ने केही नेताहरूले पार्टी सुधारको सुरुवात आफैँबाट गर्ने प्रतिबद्धता जनाउँदै हाल सम्हाल्दै आएको जिम्मेवारीबाट अलग हुने स्वघोषणा समेत गरेका छन्। एमाले रामेछापभित्र बढ्दो असन्तुष्टि र सुधारको मागले आगामी दिनमा पार्टीको आन्तरिक संरचना र नेतृत्वमा ठुलो परिवर्तन आउने सङ्केत देखिएको छ। भेला मन्थली स्थित जिएस होटेलमा जारी छ । प्रदेश कमिटी सदस्य सहित जिल्ला अध्यक्षको धारणा बाकी नै रहेको बताइएको छ ।