रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा ८० प्रतिशत बढी मत खस्यो, मत गणना सुरु

  • प्रकाशित मिति: शुक्रबार, चैत्र २० २०८२
  • तामाकोशी

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शुक्रवार अध्यक्ष पदका लागि मात्रै मतदान हुँदा ८० प्रतिशतभन्दा बढी मत खसेको छ। संघका कुल १५ पदमध्ये अध्यक्ष बाहेकका सबै पदमा यसअघि नै चैत १० गते निर्विरोध चयन भइसकेका थिए।

अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारका रूपमा निवर्तमान महासचिव कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएपछि निर्वाचन अध्यक्षमा मात्र केन्द्रित भएको हो।
अध्यक्ष पदका लागि नेपाली काँग्रेस, नेकपा (एमाले) तथा नेकपा निकट व्यवसायीहरूको संयुक्त टिमबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ प्रतिस्पर्धामा छन्। निर्वाचन अधिकृत चूडामणि अर्यालका अनुसार शुक्रवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको मतदान अवधिभर कुल १ हजार ६९८ मतदातामध्ये १ हजार ३६२ मत खसेको हो । अहिले सर्बपक्षिय बैठक सकेर मतगणना समेत सुरु भइसकेको निर्वाचन अधिकृत अर्यालले बताए ।



यसअघि नै निर्विरोध चयन भएका पदाधिकारीहरूमा महासचिवमा यज्ञ प्रसाद सुवेदी, वरिष्ठ उपाध्यक्षमा आकाश रिजाल, वाणिज्य उपाध्यक्षमा सुरेश उदास, उद्योग उपाध्यक्षमा राम सुदिश शाह सोनार, सचिवमा सिताराम लोहार तथा कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी (उत्तम) रहेका छन्।

त्यस्तै, संयुक्त व्यवसायी टिमबाट वासुदेव फुयाँल आजीवन कार्यसमिति सदस्यमा पुनः चयन भएका छन् भने महिला सदस्यमा पहिलो पटक मञ्जु माझी चयन भएकी छन्। खुल्ला सदस्यतर्फ श्याम कुमार श्रेष्ठ, किशोर पौडेल, सुरोज कुमार तामाङ, देवचन्द्र कठेत र राजु श्रेष्ठ निर्विरोध भएका छन्। यस पटक पहिलो पटक एसोसियट सदस्यतर्फ टिकाराज आरण पनि निर्विरोध भएका छन् ।