रामेछाप । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमाले रामेछापले प्रदर्शन गरेको छ। पूर्वनिर्धारित कार्यक्रमअनुसार जिल्ला कमिटीले आइतबार प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउँदै सदरमुकाम मन्थलीमा विरोध प्रदर्शन गरेको हो।
एमालेका नेता तथा कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यालय अगाडि र मन्थली बजार क्षेत्रमा सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए। उनीहरूले अध्यक्ष ओलीको बिना सर्त रिहाइको माग गर्दै विरोध जनाएका हुन्।
एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियालले प्रमुख जिल्ला अधिकारी थापालाई ज्ञापन पत्र बुझाएपछि जिल्ला प्रशासन कार्यालयको गेटमै विरोध सभा गरिएको थियो।
उक्त सभालाई सम्बोधन गर्दै बागमती प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य आनन्दकुमार श्रेष्ठ र जिल्ला अध्यक्ष कडरियालले सरकारले प्रतिशोधको भावनाले गैर कानुनी रूपमा अध्यक्ष ओलीलाई पक्राउ गरी थुनामा राखेको आरोप लगाए। नेताहरूले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि आघात पुगेको भन्दै तत्काल रिहाइ नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएको घटनालाई लिएर पूर्व प्रधानमन्त्री ओली र नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक लाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो। उक्त पक्राउप्रति असन्तुष्टि जनाउँदै एमालेले देशव्यापी विरोध कार्यक्रम सञ्चालन गरिरहेको छ।
