अध्यक्ष ओली पक्राउपछि रामेछापमा एमाले आन्दोलित

  • प्रकाशित मिति: शनिबार, चैत्र १४ २०८२
  • तामाकोशी

रामेछाप पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा रामेछापमा नेकपा (एमाले)का कार्यकर्ताहरू आन्दोलित बनेका छन्। शनिवार सदरमुकाम मन्थलीस्थित पार्टी कार्यालय अगाडि सडकमा उत्रिएर उनीहरूले प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा कार्यकर्ताहरूले कार्की आयोगको प्रतिवेदन जलाउँदै सरकारविरुद्ध कडा नाराबाजी गरेका छन् । उनीहरूले वर्तमान सरकारको कदमलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आन्दोलन अझै चर्काउने चेतावनी समेत दिएका छन्। साथै, प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णय नै पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको आरोप लगाउँदै गृहमन्त्री सुदन गुरुङको राजीनामाको माग गरेका छन्।



सरकारले गएको भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा शनिवार बिहान अध्यक्ष ओलीलाई पक्राउ गरेको जनाइएको छ।

यसैबिच नेकपा (एमाले) जिल्ला कमिटी रामेछापले आइतबार विरोध ¥यालीसहित सरकारविरुद्ध थप प्रदर्शन गर्ने भएको छ। राजनीतिक गिरफ्तारीप्रति आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई विरोध पत्र बुझाउने कार्यक्रम तय गरिएको एमाले रामेछापका सचिव प्रकाश कुमार कार्कीले जानकारी दिएका छन्।

उनका अनुसार, मन्थलीस्थित पार्टी कार्यालयबाट मध्यान्ह १२ बजे सुरु हुने उक्त कार्यक्रममा सबै तह र तप्काका नेता–कार्यकर्तालाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। एमालेले केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई लक्षित गर्दै गरिएको गिरफ्तारीलाई “प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैर कानुनी” भन्दै अदालती प्रक्रिया पूरा नगरी मन्त्रिपरिषद् निर्णयमार्फत गरिएको कदमप्रति गम्भीर आपत्ति जनाएको छ।