रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका सबैलाई आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरी कार्यालयमा पेस गर्न ताकेता गरेको छ । जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार गत बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा यस जिल्लाबाट उम्मेदवार रहेका सबैले ३५ दिनभित्र आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार ताकेता गरिएको हो ।
जिल्ला निर्वाचन अधिकारी लामिछानेले भने,“उम्मेदवार बनेका सबैले ३५ दिनभित्र निर्वाचन खर्च सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । तर मङ्गलवारसम्म कसैले पनि खर्चको विवरण सार्वजनिक गरी कार्यालयमा पेस गरेका छैनन् । यसलाई ध्यानमा राखेर निर्वाचन कार्यालयले मङ्गलवार सूचना मार्फत खर्चको विवरण सार्वजनिक गरी कार्यालयमा पेस गर्न आग्रह गरेको छ ।”
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ अनुसार उम्मेदवारले गरेको सम्पूर्ण खर्चको विवरण सार्वजनिक गरी निर्देशिकाको अनुसूची–४१ को ढाँचामा तयार पारेर बुझाउनुपर्ने उनले बताए । उम्मेदवारले तोकिएको समयभित्र आफू स्वयम् वा आफ्नो प्रतिनिधिमार्फत उक्त विवरण निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने उनले बताए ।
