रामेछाप । रामेछाप प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. कृष्ण हरि बुढाथोकी निर्वाचित हुनुभएको छ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार डा. बुढाथोकीले २४८०८ मतसहित आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई पछि पार्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार माधव प्रसाद ढुङ्गेल १७६०९ मतसहित दोस्रो स्थानमा रहनुभएको छ।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्का १६३०७ मतसहित तेस्रो स्थानमा रहनुभएको छ भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार श्यामकुमार श्रेष्ठ १३३५४ मतसहित चौथो स्थानमा सीमित हुनुभएको छ।
रामेछापमा भएको प्रतिस्पर्धात्मक निर्वाचनमा विभिन्न राजनीतिक दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको थियो। मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता कायम राख्नुभएका डा. बुढाथोकी अन्ततः विजयी हुन सफल हुनुभएको हो।
डा. बुढाथोकी लामो समयदेखि अर्थशास्त्र, वित्तीय क्षेत्र र सामाजिक अभियानमा सक्रिय रहँदै आउनुभएको व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँको विजयसँगै रामेछापको विकास, सुशासन र नीतिगत सुधारका विषयमा नयाँ अपेक्षा गरिएको स्थानीयवासीले बताएका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै विजयी उम्मेदवार बुढाथोकीले रामेछापको समग्र विकास, जनसेवा सुधार र नतिजामुखी विकासका लागि आफू प्रतिबद्ध रहने बताउनुभएको छ।