को हुन् प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. कृष्ण हरि बुढाथोकी ?

  • प्रकाशित मिति: आइतबार, फाल्गुन २४ २०८२
  • तामाकोशी

रामेछाप । रामेछापबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. कृष्ण हरि बुढाथोकी अध्ययन, अनुसन्धान, सामाजिक अभियान र नीति बहसका क्षेत्रमा सक्रिय बौद्धिक व्यक्तित्वका रूपमा परिचित छन्। लामो समयदेखि सुशासन, प्रभावकारी जनसेवा र समतामूलक समृद्धिको विषयमा निरन्तर अध्ययन र बहस गर्दै आएका उनी अहिले प्रत्यक्ष राजनीतिमार्फत नीति निर्माण तहमा पुगेका छन्।
डा. बुढाथोकीले करिब दुई दशकभन्दा बढी समय वित्तीय क्षेत्रमा कार्यअनुभव हासिल गरेका छन्। आर्थिक नीति, वित्तीय व्यवस्थापन तथा विकासका विषयमा उनले अनुसन्धानमूलक कार्य गर्दै आएका छन्। देशको आर्थिक अवस्था, विकास नीति र सुशासनका विषयमा उनले विभिन्न मञ्चमार्फत आफ्नो धारणा प्रस्तुत गर्दै आएका छन्।
शैक्षिक रूपमा पनि उनी निकै सशक्त पृष्ठभूमि भएका व्यक्तित्व हुन्। उनले अर्थशास्त्र विषयमा विद्यावारिधि (Ph.D.) गरेका छन् भने अंग्रेजी विषयमा दर्शनाचार्य (M.Phil.) उपाधि हासिल गरेका छन्। त्यस्तै अर्थशास्त्र, अंग्रेजी, व्यवस्थापन, समाजशास्त्र, राजनीतिशास्त्र र जनप्रशासन गरी ६ विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेका छन्।
सामाजिक तथा विकास बहसका क्षेत्रमा पनि उनी सक्रिय रहँदै आएका छन्। विगत १० वर्षदेखि “रामेछाप विकास बहस” कार्यक्रम सञ्चालन गर्दै जिल्लाको आर्थिक सम्भावना, उद्यमशीलता, उत्पादन वृद्धि, बजारीकरण तथा शिक्षालाई सीपसँग जोड्ने विषयमा जागरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका छन्। साथै सद्भाव फाउन्डेशन नेपालमार्फत मानवीय सेवा र सामाजिक सद्भाव अभिवृद्धिमा पनि उनले भूमिका निर्वाह गर्दै आएका छन्।
डा. बुढाथोकी लेखन क्षेत्रमा पनि सक्रिय छन्। उनले आर्थिक दृष्टिकोण, व्यवस्थापन विद्या, नेपालका नेता र विकास, सदमानव तथा समृद्ध रामेछापको मार्गचित्र लगायत पुस्तक प्रकाशित गरेका छन्, जसमा अर्थतन्त्र, नेतृत्व, विकास र मानवीय मूल्यमान्यताका विषयमा विचार प्रस्तुत गरिएको छ।
अध्ययन, अनुसन्धान, सामाजिक सेवा र विकास बहसको लामो अनुभव बोकेका डा. कृष्ण हरि बुढाथोकी अहिले रामेछापको समृद्धि, सुशासन र नतिजामुखी विकासका लागि नीति निर्माण तहमा सक्रिय हुने अपेक्षा गरिएको छ।