रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न रामेछापमा सर्वदलीय बैठकले विभिन्न १३ बुँदे निर्णयहरू गरेको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा आइतबार बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको हो । बैठकले निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्ने तथा गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
जिल्लाभर कायम ९६ मतदान स्थलका २२८ मतदान केन्द्रमा सर्वदलीय समन्वय, निर्वाचन व्यवस्थापन तथा सञ्चालनलाई प्रभावकारी बनाउने निर्णय बैठकले गरेको छ। साथै फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसारलगायत निषेध गरिएका सबै गतिविधि बन्द गर्ने सहमति भएको छ। मतदान केन्द्रभित्र तोकिएका आधिकारिक व्यक्ति बाहेक अन्य व्यक्तिको प्रवेश निषेध गरिने निर्णय गरिएको छ। अशक्त मतदातालाई प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ अनुसार आवश्यक सहयोग गर्ने व्यवस्था मिलाइने पनि बैठकले निर्णय गरेको छ ।
निर्वाचनको दिन अत्यावश्यक सेवा बाहेक अन्य सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइने निर्णय गरिएको छ। एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकाय, विद्युत, खानेपानी, ढल तथा दूरसञ्चार मर्मत सेवाका सवारी साधन, निर्वाचन प्रयोजनका लागि अनुमति प्राप्त सवारी साधन, कूटनीतिक नियोगका सवारी साधन, पर्यवेक्षक तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको छ ।
त्यसै गरी मतदान स्थलको ३०० मिटर वरिपरि मदिराजन्य पदार्थको बिक्री, वितरण तथा सेवनमा कडाइका साथ रोक लगाइने र उल्लङ्घन गरे प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने निर्णय गरिएको छ। यस कार्यान्वयनमा राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी तथा सरोकारवाला सबैको समन्वय आवश्यक रहने उल्लेख गरिएको छ। बैठकले मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मात्र नागरिकता, मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा वा सवारी चालक प्रमाणपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको छ।
निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल तथा उम्मेदवारले आपसी सम्बन्धलाई सम्मानजनक, सौहार्दपूर्ण र जिम्मेवार बनाउँदै आफ्नो भूमिका प्रभावकारी ढङ्गले निर्वाह गर्ने सहमति भएको छ। साथै बैठकले सम्पूर्ण जिल्लावासी मतदातालाई मतदानमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न अनुरोध गरेको छ।

