रामेछापमा फागुन १८ गतेसम्म मतदान स्थलमा मतपत्र पठाइने

  • प्रकाशित मिति: शनिबार, फाल्गुन १६ २०८२
  • तामाकोशी

रामेछाप । यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन १८ गते सम्म सबै मतदान स्थलमा मतपत्र पठाइने भएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र एक मात्रै रहेको रामेछापमा विभिन्न मतदान केन्द्रमा खटाइएका मतदान अधिकृतहरूले तोकिएको मितिमा अनिवार्य रूपमा उपस्थित भई मतपत्र बुझ्नुपर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उमाकुण्ड, दोरम्बा शैलुङ र सुनापति गाउँपालिका अन्तर्गतका दुर्गम मतदान केन्द्रका मतदान अधिकृतलाई फागुन १७ गते तथा अन्य सबै मतदान केन्द्रका मतदान अधिकृतलाई फागुन १८ मतपत्र बुझ्न भनिएको छ ।



मतपत्र वितरण मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको रामेछाप जिल्ला अदालत भवनबाट हुने जनाइएको छ। सम्बन्धित सबै मतदान अधिकृतहरूलाई तोकिएको मिति र स्थानमा अनिवार्य उपस्थित भई मतपत्र बुझिलिन मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले आग्रह गरेका छन् ।
यस निर्वाचनका लागि जिल्लाभर मतदान अधिकृत २३० जना, सहायक मतदान अधिकृत २३० जना, सहायक कर्मचारी ६८४ जना र सहयोगी कर्मचारी १३० जना गरी कुल १ हजार ३७४ जना कर्मचारी परिचालन गरिएको छ।

रामेछापमा दुई नगरपालिका र छ गाउँपालिका गरी ६४ वडा रहेको रामेछापमा ९६ मतदान स्थल र २२८ मतदान केन्द्र छन्। तीमध्ये ४१ मतदान स्थल अति संवेदनशील, ३५ संवेदनशील र २० सामान्य श्रेणीमा वर्गीकरण गरी जिल्ला सुरक्षा समितिले सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ।

यस निर्वाचनमा रामेछापमा १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन् भने २ हजार ४२२ अस्थायी मतदाता छन्। निर्वाचनमा तीन जना स्वतन्त्रसहित १४ राजनीतिक दलका १७ उम्मेदवार चुनावी मैदानमा छन्।