२०७९ को निर्वाचनमा रामेछापमा झन्डै ६ प्रतिशत बदर मत, यो पटक घटाउन निर्वाचन कार्यालय के गर्दै छ?

  • प्रकाशित मिति: सोमबार, फाल्गुन ११ २०८२
  • तामाकोशी

रामेछाप । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रामेछाप जिल्लाका सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। बदर मतको सङ्ख्या घटाउने उद्देश्यसहित जिल्ला निर्वाचन कार्यालयले यो अभियान तीव्र पारेको जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय रामेछापका जिल्ला निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार जिल्लाका २ नगरपालिका र ६ गाउँपालिकाका ६४ वडामै मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। विगतका निर्वाचनमा देखिएको बदर मतको अवस्थालाई मध्यनजर गर्दै यस पटक मतदान प्रक्रियाबारे मतदातालाई व्यवहारिक रूपमा जानकारी दिन जोड दिइएको उनले बताए।



फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रमअन्तर्गत महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सबै वर्गका मतदातालाई लक्षित गरी सही मतदान प्रक्रिया, मतपत्र जाँच गर्ने तरिका, स्वस्तिक छाप प्रयोग विधि तथा बदर मत हुन नदिन अपनाउनुपर्ने सावधानीबारे स्वयंसेवकहरूले जानकारी दिइरहेका छन्।

घरदैलो तथा समूहगत अभिमुखीकरणमार्फत मतदातालाई सचेत गरिँदै आएको छ।
उनका अनुसार २०७९ सालमा सम्पन्न निर्वाचनमा रामेछाप जिल्लामा औसत ५.३८ प्रतिशत बदर मत परेको थियो। उमाकुण्ड गाउँपालिकामा ६.९५ प्रतिशत, खाँडादेवीमा ४.११, गोकुलगंगामा ६.५२, दोरम्बामा ३.४३, मन्थली नगरपालिकामा ५.६४, रामेछाप नगरपालिकामा ५.१८, लिखु तामाकोशीमा ७.१८ र सुनापतिमा ३.९४ प्रतिशत बदर मत रहेको तथ्याङ्क छ।

यो अवस्था केवल रामेछापको मात्र नभई देशभरकै औसत बदर मत प्रतिशत ६ प्रतिशतभन्दा माथि रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि रामेछाप जिल्लामा १ लाख ८७ हजार ९५२ जना मतदाता रहेका छन्। प्रभावकारी मतदाता शिक्षामार्फत बदर मत घटाई निर्वाचनलाई थप विश्वसनीय र प्रभावकारी बनाउने लक्ष्य लिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।