यो निर्वाचन देश बनाउने र जलाउनेबीचको लडाइँ होः अध्यक्ष ढुंगेल

  • प्रकाशित मिति: शनिबार, फाल्गुन ९ २०८२
  • तामाकोशी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेल ले नेकपा एमालेको मूल सपना मुलुक बनाउने रहेको स्पष्ट पार्नुभएको छ। ढुंगेलले नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क कमिटी ले शनिबार कोटेश्वर मा आयोजना गरेको उपत्यका केन्द्रित वृहत् चुनावी सभालाई सम्बोधन गर्दै एमालेको मुख्य उद्देश्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको बताउनुभयो।

उहाँले देश बनाउने पार्टीलाई कमजोर बनाएर मुलुक अघि नबढ्ने धारणा राख्दै अहिलेको निर्वाचन देश बनाउने र जलाउनेबीचको लडाइँ भएको उल्लेख गर्नुभयो। साथै, देश निर्माण गर्ने शक्तिलाई जिताउन एमालेको सूर्य चिन्हमा मतदान गर्न आह्वान गर्नुभयो।
अध्यक्ष ढुंगेलले एमालेबाहेक अन्य दलले विकासका ठोस काम गर्न नसकेको दाबी गर्दै रामेछाप मा एमालेबाहेक अरू कसैले विकास गरेको प्रमाण देखाउन सके पार्टीको झण्डा फालिदिने चुनौतीसमेत दिनुभयो।



एमालेले गरेका विकासका कामकै आधारमा जनताले पुराना आरोप गर्नेहरूलाई सबक सिकाउनुपर्ने उहाँको भनाइ थियो। उहाँले एमालेको झण्डा जलाउने, सिंहदरबार, सर्वोच्च अदालत, संसद भवनजस्ता सार्वजनिक संरचना तथा निजी घरमा आगजनी गर्नेहरू नै आफूलाई ‘नयाँ’ शक्ति भन्दै हिँडेको टिप्पणी गर्नुभयो।

यस्तो खालको नयाँ शक्ति नेपाली जनतालाई नचाहिएको बताउँदै उहाँले भन्नुभयो, “पुलिसको ड्रेस खोस्ने र भाटभटेनीबाट रक्सी चोर्नेलाई नयाँ भन्ने हो भने, देशको विकास र समृद्धिका लागि काम गर्नेलाई के भन्ने ?”
एमाले सत्तामा आए देश बनाउँछ भन्ने डरले केही शक्तिहरूले विगतमा देश जलाउने काम गरेको दाबी गर्दै ढुंगेलले सिंहदरबार, सर्वोच्च अदालत, संसद भवनमा भएका आगजनी र सुरक्षाकर्मीको पोशाक तथा हतियार खोसिएका घटनाहरू स्मरण गराउनुभयो। “तिमीहरूको काम जलाउने हो, बनाउने होइन,” भन्दै उहाँले देश निर्माणको जिम्मा एमालेले मात्र लिन सक्ने दाबी गर्नुभयो।